पहिरोले चेपाङको घर जोखिममा, १० बाख्रा पुरिए

रत्ननगर (चितवन), १७ भदौ । चितवनको विकट गाविस सिद्धीमा आज बिहान आएको पहिरोले स्थानीयवासी यामबहादुर चेपाङको परिवार अलपत्रमा पारेको छ ।

सिद्धी गाविस–८ पाईमाराङस्थित गाउँमा उहाँको १० वटा बाख्रा माटोमा पुरिएका छन् । रातभर परेको अविरल वर्षापछि आएको पहिरोले घरछेउमै खोरमा रहेका बाख्रा पुरिएका हुन् । पुरिएका छ वटा बाख्रालाई भने गाउँलेले जिउँदै निकालेका थिए ।

पहिरो घरभित्रै छिर्ने जोखिम बढेपछि यामबहादुर परिवारसहित अहिले छिमेकीको शरणमा रहेको स्थानीय आइतमान चेपाङले जानकारी दिनुभयो । गाउँका अरु घरपरिवार पनि पहिरोको भयले रातभर सुत्न नसकेको उहाँले बताउनुभयो ।

वैशाखको भूकम्पले चितवनका पहाडमा पनि असर परेकाले पहिरो खस्न थालेका हुन् । गाउँ बस्तीमा रहेको पहाडमा पहिरो खस्ने जोखिम बढेपछि अरु चेपाङ परिवारमा त्रास बढेको छ ।

चितवनका नौ पहाडी गाविस पहिरोको उच्च जोखिममा छ । यस क्षेत्रमा सीमान्तकृत समुदाय चेपाङसहित आदिवासी जनजातिको बाहुल्यता रहेको छ ।

भूकम्पका क्रममा क्षति पुगेका ४०० परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरे पनि सबैलाई सारिएको छैन । चारसयमध्ये १०० परिवारका लागि मात्र घर बनेको सूचना अधिकृत बलराम लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार काउले र लोथरका चेपाङका लागि सुरक्षित स्थानमा घर बने पनि अन्यत्रका लागि घर बनेको छैन ।

तपाइँको प्रतिक्रिया ।