कौण्डिन्य गोत्र : कविप्रसाद प्याकुरेल (कविता )

कौण्डिन्य गोत्र : कविप्रसाद प्याकुरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।

परापूर्व कालदेखि आजपर्यन्त विश्वमा
पराशर कुण्डिनीका वंशवृक्ष स्वरूपमा ।
भारतवर्ष कन्नौज कान्यकुब्जीय ब्राह्मण ।
प्रत्याक्रमणको कष्ट स्थानान्तर अनेकन ।।१।।

वैकल्पिक व्यवस्थामा गर्दै जीवनयापन ।
धर्मसंस्कृति रक्षामा अनेकौँ कष्टका क्षण ।।
भारत उत्तराखण्ड, हिम, तराई, पर्वत ।
विश्वव्यापी भएका छौँ हामी सम्पूर्ण विश्वमा ।।२।।

प्याकु¥याल, पराजुली, न्यौपाने र मरासिनी ।
आचार्य, सापकोटा र बासकोटा, सत्यालमा ।।
खड्का र बगाले थापा आदि कौण्डिन्य वंशमा ।
सगोत्रीमा विवाहादि यज्ञदान निषेधित ।।३।।

तीन हजार तीन सौ वर्ष इसा द्वादशपूर्वमा ।
कौण्डिन्य वंश समृद्ध यात्राको इतिहासमा ।।
विधर्मीहरूका द्वारा पवित्र कान्यकुब्जमा ।
प्रत्याक्रमण आक्रान्त समस्यामा अनेकन ।।४।।

आर्यावर्त स्वतन्त्र शाश्वत सदा सर्वत्र आलोकित ।
आर्यावर्तप्रति विधर्मीहरूको सर्वाङ्ग आक्रोशित ।।
आर्यावर्त स्वधर्म संस्कृतिप्रति समृद्ध संवर्धन ।
प्रति आर्यावर्त सदा हुन सकौँ सर्वस्व नै अर्पण ।।५।।

काली पार गरेर पूर्व तटमा श्री काँगडा पावन ।
अल्मोडाभरि कान्यकुब्जी द्विजको सद्वंश संवर्धन ।।
राजाबाट सदा विभूषित हुँदा यो सम्यता आर्यको ।
हाम्रो संस्कृति सभ्यता अब भने सर्वत्र नै खुम्चियो ।।६।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।