अभिनव व्यास : अचम (कविता )

अभिनव व्यास : अचम (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

आएँ चट्ट सफा विचार गहिरो बोकेर साहित्यमा
ढाँचा झट्ट मिलाउने सिलसिला होस् प्रेम लालित्यमा
गर्ने होस् उपकार विश्व भरको यो काव्यको श्रृङ्खला
चोखो भव्य उदारता समयले नौलो उघार्ला कला ।।१।।

राख्ने के कसरी खुला विषयमा यो काव्यको शीर्षक
साँच्चै होस् कविता मुलायम÷कडा सन्दर्भमा सार्थक
स्रष्टाका सपना सुरम्य रसिला पढ्दै रमून् पाठक
ज्ञानी सज्जन गन्यमान्य जनले सत्कार होस् व्यापक ।।२।।

गार्गी पाठक सामुमा विनयमा खुल्छिन् महानायिका
जस्को वृत्त रमेर फन्फन घुमी लेखिन्छ आख्यायिका
यात्रा पाठक साथमा अदबले चल्दै गरोस् मौलिक
ताजा तात्विक चेतना सघनमा होस् दौड भौगोलिक ।।३।।

पढ्दै पाठक काव्यका हरफ यी आरोग्य पाऊन् नयाँ
निष्ठा प्राप्त बनोस् र सज्जन गरून् निर्धक्क आलोचना
होस् रोमाञ्चक खुल्दुली पठनमा यो काव्य सारांशमा
चुम्दा अक्षर एक एक रसिला आमोद निष्कर्षमा ।।४।।

फैलून् उत्तम शुभ्र बोट विरुवा सम्पूर्ण हाँगाबिंगा
पढ्ने पाठक रौसिऊन् अचमका भावार्थमा झाङ्गिदा
देखेका सपना विशिष्ट विपना सञ्चारमा फैलिऊन्
बाटो स्वच्छ सदा फराक बलिया सौन्दर्यका पैलिऊन् ।।५।।

आयो झल्झल याद बर्ष पहिलो खान्थें कतै जागिर
हाँसो मुस्मुस् ओठमा गजबको खाल्टो छ गालानिर
हेर्ने चञ्चल चाल मस्त युवती बेचेर बस्थिन् चिया
सच्चा मानवता उकास्न सकिने आधार खोज्थ्यो हिया ।।६।।

डाक्ने निर्मल चालले नजरले मुस्कान मस्ती थियो
पाटो उत्तर तर्फको गजबको, बल्थ्यो धपक्कै दियो
खोपिल्टो जुन देखियो नजरले हेरी अघाउन्थ्यो
अन्तै पार्छु भन्यो भने नजरले टेरी सघाउन्नथ्यो ।।७।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।