महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलाई नेसपाको चेतावनी, यस्तै गतिविधि गरे कारर्बाही हुन्छ

महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलाई नेसपाको चेतावनी, यस्तै गतिविधि गरे कारर्बाही हुन्छ
कपन अनलाइन
काठमाण्डौ,भाद्र १४।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग नगर्न चेतावनी दिएको छ।

नेसपाको साधारण सदस्यसमेत नरहेका महेन्द्रराय यादव, र गंगानारायण श्रेष्ठलगायत नेताहरूले स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग गरेको नेसपा प्रवक्ता कृष्ण शर्माले बताए।

नेपाल समाजवादी पार्टी एक्काइसौँ शताब्दिको पछिल्लो ज्ञानविज्ञान र दर्शनले सुसज्जित नयाँ विचार, वैकल्पिक राजनीति, अग्रगामी एजेन्डा र उच्च नैतिक आचरण अनुसरण गर्ने राजनीतिक दल भएको बताउँदै प्रवक्ता शर्माले भने, ‘पार्टीको उच्चविचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठलगायतका केही अनुशासनहीन व्यक्तिहरूले अझै पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’

महिन्द्र र गंगानारायण समूहले पार्टीको काँधमा चढेर सत्ता र शक्तिको उपभोग गर्दै पार्टी र वैकल्पिक राजनीतिको हितविपरित गतिविधि गरिरहेको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘हाल हाम्रो पार्टीको साधारण सदस्य समेत नरहेका र निर्वाचन आयोगको विधिगत अभिलेखीकरणमा नामै नरहेका व्यक्तिहरूले पार्टीको काँधमा चढेर सत्ता र शक्तिको उपभोग गर्दै पार्टी र वैकल्पिक राजनीतिको हितविपरित गतिविधि गरिरहेका थिए र छन्,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीको बदनाम गर्ने अराजनीतिक एवं पथभ्रष्ट पात्र र प्रवृत्तिहरूलाई कानूनी कार्बाहीको दायरामा ल्याउन पार्टी बाध्य हुने नेसपाले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।