‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ गठन, संयोजकमा बालेन्द्र शाह
कमिटीमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाहको संयोजकत्वमा गठित समितिमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य हुनुहुन्छ । यस्तै सार्वजनिक यातायात प्रणाली र पूर्वाधारसँग सम्बन्ध राख्ने यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ ।
परिषदका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको काम गर्नुहुनेछ । वैठकले आर्थिक वर्ष २०८०/०८१ को खर्च अनुमोदन गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ का लागि ९ करोड ६२ लाख रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ ।
यसबाट जिआइइस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ् सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्याङ्क संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै सर्भर र सफ्टवेयर खरिद कार्य हुनेछन् ।
गएको वर्ष परिषदको कोषमा संघीय सरकारबाट १ करोड रुपैयाँ र काठमाडौँ महानगरपालिकाबाट १ करोड रुपैयाँ प्रदान गरिएको थियो । यस वर्ष काठमाडौँ महानगरपालिकाले ८ करोड रुपैयाँ र संघीय सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएका छन् । अघिल्लो वर्षको मौज्दात करिब ६२ लाख रुपैयाँ छ ।
वैठकले, सदस्य पालिकाहरुलाई यातायात फोकल पर्सन तोकेर ७ दिनभित्र परिषदमा नाम पठाउन अनुरोध गरेको छ । परिषदको पहिलो वैठक गएको वर्ष भदौ २८ गते बसेको थियो । त्यस वैठकले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणको कार्य क्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै निर्णय गर्नु अघि प्राधिकरणसँग समन्वयका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।