गाईजात्रा सधैँभरि : त्रिलोचन आचार्य (कविता )

गाईजात्रा सधैँभरि : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
१. माथि पुग्नेहरू फ्यात्तै कुहिँदै तल झर्दछन्
सद्दे को छ सबै पाए अर्काकै खेत चर्दछन्
बानी प¥यो अघाउँन्नन् चर्नेहरू चरी–चरी
चरुवा चतुरा गर्छन् गाईजात्रा सधैँभरि
२. साँडेझैँ डुक्रने सोझै सिँहदर्वार चर्दछन्
नयाँ राजा सबै चिल्ला गाडीमा चर्न झर्दछन्
ठेकेदारहरू ठुला चर्छन् संसदमा झरी
आउन् हेर्न यहाँ मिल्छ, गाईजात्रा सधैँभरि
३. मर्दैछन् जनता नित्य बाढी पैह्रो र भेलले
चर्न जान्नेहरु भन्छन् पैसो मिल्दछ खेलले
ठूला खर्क पुगी चर्छन् बुढा गाएर लैबरी
चल्छ चल्छ यहाँ चल्छ गाईजात्रा सधैँभरी
४. हुर्काएर शिशु सानो स्याहार बहुतै गर्यो
पढाउँने कसोरी हो लल्लरी बल्लरी पर्यो
जब बढ्छ उता गर्छ भिषामा चर्न आतुरी
रित्तियो देश यो चर्ने गाईजात्रा सधैँभरि
५. मान्छे मारेर चर्ने नै प्रवक्ता बुद्धका भए
भ्रष्टाचारतिरै चर्ने नमुना शुद्धका भए
साँध मिची मिची चर्ने कति हुन् कति सुग्घरी
चर्नेले त गरेकै छन् गाईजात्रा सधैँभरि
६. घरले खेत ढाकेर आयाततिर चर्नु छ
विप्रेषण मिलेकै छ चरेर त्यै हसुर्नु छ
चर्नकै लागि जन्मेका गरुन् चर्दै चुरीफुरी
हेरौँ लौ शुल्क लाग्दैन गाईजात्रा सधैँभरि।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।