के म ताली बजाऊँ ? ( त्रिलोचन आचार्य)
कपन अनलाइन
काठमाडौं, साउन ५।
काठमाडौं, साउन ५।
१. जुट्छन् फुट्छन् दिन दिन पसी स्वार्थ्यको खेलभित्र
पैसा नै हो फगत यिनको भोलिको मार्गचित्र
भत्क्यो बिग्रो सबतिर गल्यो आसको छैन ठाउँ
लाग्छन् यस्ता अघि पछि बसी, के म ताली बजाऊँ ?
२. हिँड्छन् कैले सुर विसुरमा देश जे होस् जता होस्
खोज्छन् कस्तो प्रगति जनता ध्यान राख्ने कता होस्
पोखी पोखी श्रम म कसरी दिव्य आस्था जगाऊँ
राम्रो मान्दै चटक यिनको, के म ताली बजाऊँ ?
३. छायाजस्तै सँग सँग मिले कुर्सिको भागबण्डा
कोकोहोलो अनि छ नमिले लात दण्डा बितण्डा
आमा भन्छिन् मन मुटु दुखी ढल्न लागेँ समाऊ
हेर्दै यस्ता अभिनय उता, के म ताली बजाऊँ ?
४. फाल्छौँ भन्छन् अब त गरिबी बङ्गलामा बसेर
फेर्छौँ भन्छन् दिन सकलका झन् जुकाझैँ डसेर
भन्नै लाग्यो अब त बिचरा लाज आफैँ लजाऊँ
बस्छन् झिक्दै गलफत सधैँ, के म ताली बजाऊँ ?
५. फाली यौटा भन किन सयौँ देख्नु पर्दैछ राजा
तासी बासी हर चिजहरू भन्नु पर्दैछ ताजा
गुड्डी हाँक्छन् हर तरहका सत्य मानी रमाऊँ
बुझ्दै जाली हरकत सधैँ, के म ताली बजाऊँ ?
६. मान्छेले नै कति गरिसके रातकै छैन पालो
बस्छौँ हामी कठिन छ भनी नाघ्न कान्लो उकालो
हेर्दै नाना कलह सुखका गीत कस्तो सुनाऊँ
बिर्सी बाटो जय विजयको, के म ताली बजाऊँ ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।