काभा यू २० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

काभा यू २० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

कपन अनलाइन

काठमाण्डौ,साउन १।

नेपाल भलिबल संघले  माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाई गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले बिदाई गरे । च्याम्पियनसिप यही जुलाई १८ देखि  २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।
नेपालले पहिलो पटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले उमेरसमूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ ।
नेपाली टोलीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो पटक उमेर समूहको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने लागेको भन्दै शुभकामना दिए । उनले यो राम्रो सुरुआत भएको र यो टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र  तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।
सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाईनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाईनल खेल हुनेछ । फाईनल खेल जुलाई २३ मा हुनेछ ।
नेपालले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
नेपाली टोली :
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
मुख्य प्रशिक्षक : कुमार राई
सहायक प्रशिक्षक : अर्जुन घिमिरे
व्यवस्थापक : जुनु पुन

तपाइँको प्रतिक्रिया ।