चित्त दुख्दो छ दाजै : त्रिलोचन आचार्य (कविता )

चित्त दुख्दो छ दाजै : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २९ ।

नेपाली राष्ट्र भाषा जन प्रिय कविको लेखनीमा खुलेर
आए मीठा अनेकौँ रसमय कविता काव्य माला बुनेर
बित्दा दोटा शताब्दी लिलिपुट छ अझै देख्न लाग्दो छ लाजै
भाषा झारे लतारे तलवितल गरे, चित्त दुख्दो छ दाजै ।

आयो आषाढ मैह्ना हर घर कविको सम्झनामा उठेन
भाषा हो शान हाम्रो भनिकन यसको शुध्दतामा जुटेन
को बोल्लान् खै हजारौँ प्रतिदिन दगुरे खेत राखेर बाँझै
अङ्ग्रेजी बोल्न खोज्छन् हुन अति गतिलो, चित्त दुख्दो छ दाजै ।

आमा भन्दैन नानी अति प्रिय छ ममी बाबु ड्याडी हमेशी
चिन्दैनौँ राम सीता दशरथ भृकुटी चिन्दछन् जर्ज मेसी
मान्दैनौँ छन्द भन्ने सुर लय नहुने काव्य उत्कृष्ट आजै
नेपाली पढ्न गाह्रो रहर छ परकै, चित्त दुख्दो छ दाजै ।

लाम्खुट्टे गाउँछन् यी उडुस र उपियाँ नाच्दछन् जेलमा छु
भन्दै को ब्यङ्ग कस्ने सकल लिगलिगे स्वार्थ्यका दौड देख्छु
नेता कुर्सी घुमाई नजर पर छरी ठान्दछन् हूँ कि राजै
देख्दा भाषा बिगार्ने अभिनय जनको, चित्त दुख्दो छ दाजै ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।