अँध्यारो : लक्ष्मण अर्याल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असार २२।
दिनले रातलाई गिज्यायो – ‘छ्या, तिमी अँध्यारी, काली अनि कत्ति हिस्सी नपरेकी ।’
रातले पनि दिनलाई ओठे जबाफ लगाई – ‘तिमीले आफ्नो अनुहारको प्रतिबिम्ब नियालेका छौ ? सूर्यको तातो प्रकाशमा बसेर आफू उज्यालो भएको ठान्नु तिम्रो मूर्खता हो ।’
दिनले भन्यो – ‘तिमीले पनि त आफ्नो रूपको प्रतिबिम्ब हेर्न चिसो चन्द्रमाको टलक कुर्नुपर्छ ।’
दुबैले लगातार एकअर्कामा खोट लगाइरहे ।
रात – ‘तिमीले आफ्नो ढाडमा दौडिरहेको भैँसी देखेनौ हगि ।’
दिन – ‘तिमी चोरीचकारी र कुकर्महरूकी रानी हौ । तिमी आएपछि प्रफुल्ल बन्छन् तिनीहरू । के तिम्रा आडमा भएका कुकर्महरूको भागीदार तिमी बन्नु पर्दैन ?’
अन्तमा रातले पनि झटारो हानी दिनलाई । भनी – ‘आजकल कुकर्मीहरूले मेरो आगमन कुर्दैनन् । पत्याएनौ, हेर त तिम्रै ढलिमली भएका बेला चल्ने सरकारलाई ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।