प्रश्न : अन्जु शर्मा (लघुकथा)

प्रश्न : अन्जु शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाडौं, जेठ १९।
‘आमा ! हजुर र कुकुरमा को ठूलो ?’ सानी छोरीको प्रश्नले म तरङ्गित भएँ । मैले छोरीलाई काखमा लिदै ‘तिमीलाई यस्तो प्रश्न  गर्न कस्ले सिकायो ?’ मीठो भाषामा सोधेँ ।
‘कस्ले पनि हैन, आफैं जानेको । हजुरले छोएको कसैले पनि खानुहन्न, पूजाकोठा, भान्सा कतै पनि जानदिनुहुन्न । अनि हाम्रो काले कुकुर चाहिँ हजुरआमा सँगै तुलसी भगवानको मोठमा जान्छ । हजुरआमाले चढाएको दूध खान्छ ।भान्सामा पनि जान्छ ।’
‘ए म नछुने भएकोले अपवित्र भनेर जान दिनुहुन्न नि !’
‘हजुर सधैँभरि नछुने हुनुहुन्छ हो ?हजुरलाई त कहिले पनि पूजा गर्न दिनुहुन्न त हजुरआमाले ।’
‘म तिम्री हजुरआमा भन्दा तल्लो जातकी पनि हुँ नि ! त्यहीँ भएर होला ।’
‘अनि गोबर सोर्न, जुठाभाँडा माझ्न, बारीको काम गर्न चाहिँ हजुरको जातले हुन्छ ?’
‘अः हुन्छ ।’
‘उसो भए आमा, म कुन जातमा परेँ ? पवित्र कि अपवित्र ?’
छोरीको प्रश्नले मेरो टाउको गह्रङ्गो भयो । मैले जातीय, वर्गीय, नारी स्वतन्त्रताका सबै दफा सम्झे । परिवर्तन हुन नसकेको समाज सम्झे अनि भक्कानिएर लडेँ । होसमा आउँदा म अस्पतालको शैयामा थिएँ ।
छेउको टिभीबाट समाचार प्रसारित हुँदै थियो, ‘घरेलु हिंसाका कारण नारी अभियान्ताको अवस्था चिन्ता जनक !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।