चोरहरु स्कुल गएछन् : भोलानाथ सुवेदी (कविता )

चोरहरु स्कुल गएछन् :  भोलानाथ सुवेदी (कविता )

कपन अनलाइन

काठमाडौं, जेठ १२।

हिजो चोरहरु स्कुल गएछन्
डेक्स बेन्चका काँटी उखेलेछन्
ढोकाको कब्जा निकालेछन्
चुकुल च्वाईच्वाई पारेछन्
केही नलागेर ताला काटेछन्
हिजो चोरहरु स्कुल गएछन्
कुर्सी भाँचेछन्,कालोपाटी फुटाएछन्
चित्र बनाउने नाउँमा विचित्र गरेछन्
क्यालेन्डर च्यातेर आफ्नो क्यालेन्डर
झुन्ड्याए छन्
आईतबार बिदा थपेछन्
शनिबार बैठक राखेछन्
गेटमा हाजिर राखेछन्
स्यालुट हान्ने बहादुर राखेछन्
चकलाई पानीमा घोलेर जथाभावी पोखेछन्
चोरहरुले चुकुल,काँटी र कब्जा बेचेर
गोलखाडी खेल्न तास किनेछन्
चोरलाई अचेल स्कुल प्यारो लाग्छ
किनकि स्कुलको ढोका सजिलै खुल्छ
चोरहरुलाई स्कुल न्यानो लाग्छ
किनकि
स्कुलमा गोजी सेक्न पाइन्छ
ट्युसन थपेर ट्याटु खोप्न पाइन्छ
टुर भनेर सित्तै घुम्न पाइन्छ
अचेल चोरहरु
किताबको कमिसनमा छन्
ड्रेसमा छन् जुत्ता र मोजामा छन्
चोरहरु शिक्षित भएर स्कुलमा छन्
देश चलाउने दाउमा उनीहरु
दरबार छिर्छन्, तरबार झिक्छन्
भय र त्रासमा दुनियाँलाई पारे
चोरहरु तर मार्ने दाउमा छन्
चोरहरु स्कुल गएपछि
साधुजस्ता देखिन्छन्
व्यवहारमा दाजुजस्ता देखिन्छन
मसलामा काजुजस्ता देखिन्छन्
स्वाद स्वादका भेटिन्छन्
तेलभन्दा चिल्लो बोली हुन्छ
लोली मिलाउने टोली हुन्छ
चाहिने पनि हुन्छ
नचाहिने पनि हुन्छ
थाहा पाउनु भयो
चोरहरु स्कुल गएपछि
के के हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।