मैयाँ : मञ्जुश्री के.सी. प्रधान ( कथा )

मैयाँ : मञ्जुश्री के.सी. प्रधान ( कथा )

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ ५ ।

बादल देखेर हो र निरन्तर आकाश रोई रहेको छ, मैयाँको मन जस्तै । जीवन खुशी भए पो मन पनि खुशी हुँदो हो । जान्ने बुझ्ने भएदेखि आजसम्म कुनै खुशी र आनन्दको प्रहर थाहा पाएकी छैनन् उनले भौतिक सुख भए पनि मानसिक दुःखले सधैं पिरोली रह्यो उन्लाई । उनको मनमा थुप्रै प्रश्नहरू उफ्रिरहन्छन् । यस्तै अनेकन प्रश्नले उनको मस्तिष्कको घरमा प्रश्नहरूको पहाड उभ्याइएको छ, बुझ्ने भए देखि नै । प्रश्नहरूको पहाड भत्काउनलाई अथक प्रयास पनि नगरेकी होइनन् । यस्तो लाग्थ्यो उत्तर नपाएसम्म नजाने जिद्धि गरिरहेका छन् या भनौ हड्तालमा छन्, मस्तिष्कको कारखानामा उत्पादित अनुत्तरित प्रश्नहरू । केन्द्रीय स्नायु प्रणाली नामक हाकिमबाट प्रश्नहरूको माग पूर्ति गराउने असफल प्रयासमा लागि रहेका छन् हर वखत । पढाईमा जेहेन्दार मैयाँलाई उनकै चाहना अनुसार आइ.ए.सम्म उनको बुबाले पढाए ।
सुन्दर जेहेन्दार अनि गुलावको फुल झै मैयाँलाई मन पराउने थुप्रै युवकहरू थिए । पढाईको क्रममा उनलाई धेरैले मन पराए तर उनले एकैजनालाई मात्र मन पराइन् । जसलाई उनले पहिलो पटक आफ्नो गाउँको घरमा आउँदा भेटेकी थिइन । जतिखेर उनी सानी थिइन । त्यसपछिको दिनदेखि उनका आँखाले त्यस युवकलाई हरवखत खोज्न थालेको थियो । समयसँगै उनीहरू दुवै साथी बन्दै गए । उनीहरूको सम्बन्ध सुमधुर हुँदै गयो । दुवै एक अर्कामा आकर्षित भए अनि गहिरो सम्बन्धमा परे । सागरको गहिराइ भन्दा गहिरो थियो उनको प्रेम । साहित्यमा पनि रुची राख्ने सुभाष उपन्यासहरू लेख्थे । उनी अंग्रेजीमा माष्टर गरेका विद्यार्थी थिए । कहिलेकाही यी दुई बिचको यस्तो घुर्की गर्दा उपन्यास पढेर सुनाउथे सुभाष । सधैं खुशी राख्न चाहन्थे उनलाई ।
उपन्यासमा जस्तै सम्पूर्णताले पूर्ण थियो सुभाषको व्यक्तित्व । जातपातमा कट्टर बाबुले छोरी दिन मान्ने कुरै थिएन । बुबाले छोरीको प्रेमीलाई जातको कारण अस्विकार गर्ने पहिलो कारण सुभाष, नेवारको छोरा थिए । मैयाँले आफ्नो प्रेमको लागी धेरै प्रयास गरिन तर केही सीप लागेन जातपातको कट्टर बाबुको अगाडि । पानी विनाको माछा कतिन्जेल बाँच्न सक्छु र अन्तमा उनीहरूले आफन्तको सहयोगमा विवाह गरे । मैयाले छोरीको कर्तव्य भुलिन आमा नहुँदा पनि बाबुले  आमा बाबा दुईको प्रेम दिएर हुर्काएका थिए छोरीलाई । उनी प्रेमको खातिर स्वार्थी बनिन । प्रेम अन्धो हुन्छ भन्थे साँच्चै अन्धो हुँदोरहेछ । भौतिक सुखसुविधामा हुर्किएकी मैयाँको जीवन, जात रीतिरिवाजले गर्दा दयनीय हुन थाल्यो । कारण संस्कार फरक थियो । उनी क्षेत्रीकी छोरी सुभाष नेवारको छोरा तर पनि मैयाँ सुभाषको प्रेममा परेर आफ्ना सम्पूर्ण सुखसुविधाहरू भुलेर सुभाषको प्रेममा दुःख कहिल्यै लागेन गुनासो कहिल्यै गरिनन् । तर माया र प्रेमको मिठासले भोको पेट टम्म नहुने रहेछ । अँगालोमा बेरिएर खान पुग्दैन थियो । चुम्वनले तिर्खा मेटिदैन थियो । जे जे काम पाए पनि दुवैले गर्दै गए । उच्च शिक्षा हासिल गरेका दुवैले सानै काम भए पनि गर्दै गए । आदर्श र व्यवहार दुवै फरक पाटो रहेछ । प्रेमका मिठा कुराले पेट भरिने त क्षणिक मात्र रहेछ मैयाँले लुगा सिलाउने तालिम लिएकी थिइन । उनले त्यही काम घरमा बसेर छिमेकीका छोरा छोरीको स्कुलमा ड्रेसहरू सिलाउने काम गर्न थालिन ।
सुभाष सरकारी अफिसमा खरदारको पदमा काम गर्न थाले त्यो पनि कन्ट्रयाक्टमा । हिजोको प्रेम सम्बन्ध आज विवाहमा परिणत भई सकेको थियो । दुई वर्ष प्रेमिल दिनहरू राम्ररी बिते । उनीहरू दुई वर्षपछि छोरा जन्मियो । उनीहरू खुशी थिए । माया थियो, सम्झौता थियो मैयाँ छोराको स्यहार सम्भारमा व्यस्त हुन थालिन । सुभाषलाई समय दिन अलि गाह्रो पर्न थाल्यो उनलाई । घरको कामले पनि नभ्याउने हुन थाल्यो सुभाषले उनलाई कहिल्यै घरायसी काममा हात पटाउदैन थियो । तर मैयाँले कहिल्यै गुनासो गरिनन्, आफूले भ्याएसम्म आफ्नो निद्रा र थकानलाई पाखा लगाई घरको काम छोराको स्याहार सासु ससुराको रेखदेखमै बिताउन थालिन । किन हो सुभाष आज हिजो अलि फरक देखिन थालेको छ । उसलाई वैवाहिक जीवनबाट वाक्क लाग्न थाल्यो । हिजोसम्म मैयाँ विना एकपल बाँच्न नसक्ने सुभाष आज मैयाँ मात्र आवश्यकता भएकी छन् । सुभाषले गर्ने मायामा कमी आइसकेको छ । अवत सुभाष घरमा भन्दा घर बाहिर समय विताउन थालेको छ । राती अवेर घर आउनु रातको खाना बाहिर खान थाल्नु सुभाषको दैनिकी हुन थालेको छ । सानो सानो कुरामा उ निहुँ खोज्न थालेको छ । कहिलेकाही कुटपिट गर्न पनि थालेको छ उसले ।
जे जस्तो भए पनि लोग्ने, आफैले छानेको हो भनेर उनले सँधै सही रहिन । मैयाँको सानैमा आमा मरेर बुवाले हुर्काउनु भएको थियो । एक प्रकारले आमाको मायामा हुर्कन नपाएकी टुहुरी थिइन मैयाँ । बाबु आमा नहुनुको पिडा टुहुरोले मात्र महसुस गर्न सक्दछ । उनी चाहन्थिन उनले गरेको त्यो महसुस छोराले कहिल्यै गर्न नपरोस छोराको बालमस्तिष्कमा मानसिक असर पर्न नदिन दविएर चेपिएर, हेपिएर, कुटाइ खाएर भए पनि उनी आफूलाई समालेर बसेकी थिइन् । आफूले सुभाषलाई पहिलाको जस्तो समय दिन नसक्नुको पछाडि सुभाष पनि आफू जस्तै भएको भन्ने प्रेमिल भ्रम परेको रहेछ । तर सुभाषको वास्तविकता भने फरक थियो । मैयाँको बानी परेको सुभाष पनि भित्र भित्रै कुण्ठित थियो । सधै सुभाषको रेखदेखमा हुने मैयाँ छोरा जन्मिएपछि छोरालाई बढी समय दिएकोमा सुभाष भित्रभित्रै कुण्ठित थियो । मन भित्र कुण्ठित कुण्ठालाई स्खलन गर्न चाहन्थ्यो । छताचुल्ल पोख्न चाहन्थ्यो । सन्तानको आगमनपछि अचानक भएको परिवर्तनसँग असमायोजित भएको थियो । सुभाषमा अचानक आएको परिवर्तनसँग मैयाँ आजित थिइन ।
जति सम्झाए बुझाए पनि सुभाषमा परिवर्तन आएन झनझन सुभाष एक्लिन थाल्यो । आफू दुई बिचको प्रेमको सौगात आफ्नो सन्तान जन्मेकोमा खुशी यथावत नै रहेको थियो मैयाँमा । तर सुभाषले आफूलाई यथावत राख्न सकेनन् । मानिसले आफ्नै मनलाई त सुन्दैन भन्ने अरु कसैलाई कसरी सुन्नु सुभाषले झाँकेर आफ्नो मनको कुरा सुन्ने चेष्ठा कहिल्यै गरेन । यसले गर्दा दुई बिचमा तनाव उत्पन्न हुन थाल्यो । मैयाँलाई आफ्नो जीवन जीवन जस्तो विस्तारै लाग्न छोड्यो । सधैंको कचकच कुटामारीको पिडा खप्न मैयाँलाई गाह्रो पर्दै गई रहेको थियो । आफूले आमाको कर्तव्य निभाएकी थिइन । अझ केही गल्ती गरेकी थिइनन् । मैयाँले तर सुभाषले मैयाँलाई ठूलो सजायको भागिदार बनाउन थाले ।
एकदिन मैयाँले बाच्नु भन्दा मर्नु निको ठानी आत्माहत्याको प्रयास गरी विना गल्ती आफू सजायको भागिदार हुनु परेकोमा मैयाँ दुःखी हुँदै एउटा पत्र सुभाषको नाममा लेखी कोठामा आफ्नो सिरानी मुनी राखी । निन्द्राको ट्याप्लेट छोरालाई दुधमा मिसाई ख्वाइन र छोरासँग माफी माग्दै यो संसारमा फेरि पुर्नजन्म लिन पाए भने फेरि आमा छोरा भएरै जन्मन पाउँ भन्दै आफू पनि विष सेवन गरी सदाको लागि विदा लिइन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।