मेरा पाँच मुक्तकहरू : निर्मलरमण पराजुलि
कपन अनलाइन
काठमाण्डौ , जेष्ठ ५ ।
देश छोडेर विदेशतिर, पाईलाहरू चाल्दैछु म
पसिना बेचेर पर्देशमा, घरको चुल्हो बाल्दैछु म
चर्को घाम जोखिम काम, साहुको गाली खाँदै
बर्षौंदेखि यसैगरि, जहान बच्चा पाल्दैछु म ।।१।।
सालै पिच्छे यती उति, भन्दै उमेर गन्दागन्दै
आफ्नै आयु घटिराछ, आज भोली भन्दाभन्दै
पत्तो छैन कहाँ अनि, कति बेला प्राण जाने
बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दाखन्दै ।।२।।
जिउदो हुँदा नहेर्ने सन्तान, मरेको दिन हेर्न आउनेछन
सबै जना भेला भई वरिपरी, मलाई घेर्न आउनेछन
बाँचुञ्जेल एकै सरो टालोसम्म नदिने सन्तानहरू
जनैको साचो खोज्ने निहुमा, कात्रोले बेर्न आउनेछन ।।३।।
भोक लाग्दा खाना छैन, छैन बस्ने घर
घाम अस्ताउँछ राती हुन्छ, लाग्न थाल्छ डर
बाबु आमा छैनन् मेरा, मायाँ गरि पाल्ने
मेरा लागि सडक बाहेक, छैन केहि भर ।।४।।
निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि
मेरो साथमा सँगै जिउन, तिम्ले पाईला चालेपछि
कति खुशी भयो जीवन, भनि साध्य कहाँ छ र
मेरो घरमा तिम्रा हातका, चुरा बज्न थालेपछि ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक