बस्तीभित्र : सुप्रदीप्ति भण्डारी (कविता )

बस्तीभित्र : सुप्रदीप्ति भण्डारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

एक हुल जूनकिरी
उज्यालो पस्कने
दुस्साहस बोकेर
दौडिरहँदा
खर्लप्प निलेर
संवेदना
लमतन्न पल्टिरहेछ
समय ।

वाक्लो कुहिरो र तुँवालो
ओडेर नचिनिने
भएको छ वस्ती ।
उज्यालो वस्तीभित्र
पस्न नचाहेर
बाहिरीरहेछ ।
वतास निर्दयतापूर्वक
केवल
सुस्केरा बाँड्न
आतुर भइरहेछ ।

“तिमी आफैं भन
कसरी चिन्न सकिन्छ र ?
यो निष्पट
अध्यारोमा
वस्तीभित्रका अनुहारहरु ?”

अभावका विस्कुन
सुकाएर घाम पर्खिरहेका
चेहेराहरु,
टालेर जसोतसो
जाल ढाकिरहेका
स्वाभिमानहरु ।
सन्तानका सारङ्गी
पेट हेरेर
भोक दुखिरहेका
मनहरु ।

गिठ्ठा भ्याकुर र विषालु
च्याउसँगै
पेट भरिरहेका मजवुरहरु
छन् वस्तीभित्र ।

“तिमी अग्ला धूरी
मात्र गन्छौ ।
जीवनको सार केवल
उज्यालो हो भन्छौ
कलेटी परेका
ओठहरु
चिराचिरा चर्किएका
नाङ्गा कुर्कुच्चाहरु
कर्णाली, हुम्ला र जुम्ला
भेट्न सक्छौ
यो अध्यारो वस्तीभित्र ।

शीत छेक्ने छानो
छैन
भोक टार्ने दानो
छैन ।
भोकको सगरमाथा
चुलिएको छ
अभावको असमेल
बाढी पसेको छ ।
त्यसैमाथि
हरेक साल
वर्षाले छाउमा
नुनचुक छर्ने गरेको छ ।

“लौ अब
तिमी आफै भन”
कुन वाटो भएर
छिर्न सक्छ ?
आस्थाको उज्यालो घाम
खै यो अध्यारो वस्तीभित्र ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।