अपनत्व नस्वीकार्ने विकास के विकास :प्रशुराम अधिकारी
कपन अनलाइन
काठमाण्डौ , बैशाख ३१।
पछिल्लो राजनीतिक परिवर्तन पश्चात् नेपालमा सबैभन्दा धेरै उच्चारण भएको शब्द हो नयाँ नेपाल । नयाँ नेपाल के र कस्तो भन्ने चाहिँ अहिलेसम्म कसैले ठोस रूपमा भन्न सकेको छैन । राजनीतिक परिवर्तन पश्चात् भनिएको नयाँ नेपालको कुनै सङ्केतसम्म नदेखिएपछि देशमा युवाहरूको खडेरी पर्न थालिसकेको छ र नयाँ नेपालको शब्दोच्चारण पनि विस्तारै घटिसकेको छ ।
आम जनताको आमूल परिवर्तन र देशको समृद्धिका लागि भनेर पछिल्लो राजनीतिक व्यवस्था परिवर्तनमा जनताको उत्साहप्रद साथले नै सम्भव भएको थियो । तर व्यवस्था परिवर्तन स्वार्थ प्रेरित रहेछ भन्ने बुझेपछि अहिले आम मानसमा गुनासा, आक्रोश र निराशा बढिरहेको छ ।
जनतामा निहित सार्वभौम सत्ता र जनताद्वारा निर्वाचित प्रतिनिधीमै राज्यको कार्यकारी अधिकार रहेको बेलामा त देशको यस्तो अवस्था छ भने जटिल भूराजनीतिक अवस्थामा रहेको हाम्रो देशमा जनताले चाहेको समृद्धि र विकास कहिले हुन्छ ? आम नागरिक विषद् अन्योल र निराशामा छन् ।
पछिल्लो समय विकास नभएको होइन । तर विकास जुन शैली र गतिमा हुनुपर्ने थियो त्यो पटक्कै भइरहेको छैन । जनताले जुन आशा र चाहाना राख्छन् त्यो अलिकति पनि पूरा भएको छैन । अहिलेको विकासले युवालाई आफ्नै भूमिमा उत्साहित बनाउन सकेको छैन । उनीहरूलाई उत्पादन र विश्व बजारसँग जोड्न सकेन । युवालाई केवल विश्वव्यापी श्रमबजारको चंगुलमा पर्न विवश बनायो । सस्तो मूल्यमा श्रम र समय बेच्न बाध्य बनाइरहेको छ । सायद नयाँ नेपाल भनेको यहि थियो की ?
नेपालमा विकासको उपयुक्त नीति र रणनीति विकास भएको देखिदैन । कस्तो विकास गर्ने ? विकास के का लागि गर्ने र कसका लागि गर्ने एकदम अन्योलता देखिन्छ । अहिले भइरहेको विकास कसैको सिफारिसमा भइरहेको छ । विकासका रणनीति र योजनाहरु अन्तैकतै बनिरहे जस्तो लाग्छ । किनभने नेपालीहरूले चाहे जस्तो मौलिक विकास यहाँ भइरहेकै छैन । आर्थिक रूपमा कमजोर मानसिकताले विकासका लागि हात पर्सानु परिरहेको छ । विकासका लागि पर्याप्त लगानी छैन । विदेशीसँग माग्नु परेसी उनीहरूकै सर्त र योजनाहरु लागू हुन्छन नै । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता वित्तिय संस्थाहरूले गरिब र कमजोर देशहरुलाई धेरै विचार गर्नै दिँदैनन् । पुँजीवादी विश्व व्यवस्था र पश्चिमीकरणको प्रवद्र्धनका लागि खोलिएका यस्ता संस्थाहरूले त्यही स्वार्थलाई नै स्थापित गर्न खोज्छन् ।
अहिलेको विकास एकल संस्कृतिमा आधारित छ । यसले शिक्षा, संस्कृति, रहन सहन, रितिरिवाज, खानपान र भेषभुषामा एक रूपता चाहेको छ । तर हाम्रो देशको मौलिकता विविधतामा आधारित छ । एकरूपता चाहानेले विविधतालाई सहदैनन् । उनीहरूको परिपाटी प्रभुत्ववादी हुन्छ । प्रभुत्ववादीहरू आदेश र निर्देशनमा समाजलाई चलाउँछन् । विकासको यस परिपाटीले सभ्रान्त वर्गले मात्रै फाइदा लुटिरहेका छन् । अहिलेको विकासको सम्बन्ध भुइवर्गसँग आत्मिक रूपमा छैन् । यसले उनीहरूको भित्री चाहानालाई समेट्दैन ।
कसैको स्वार्थमा ठडिएका भौतिक संरचना मात्रै विकास होइन । जसले आफ्नोपनको आभाष दिँदैन । त्यो विकास होइन । जुन मौलिक संस्कृतिका अवरोधक हुन अथवा विनाशका कारक हुन ती विकास हुनै सक्दैनन् । आफ्ना पुर्खा र वंशजको योगदानको अवमूल्यन गर्ने परिपाटी विकास हुन सक्दैनन् । आफ्नो भूमि, थातथलोबाट पलायन हुनुपर्ने, आफ्नो मौलिकता र इतिहास बिर्सनु पर्ने स्थिति कसरी विकास हुन सक्छ ? सिमान्तकृत समुदाय उत्थान हुन नसक्ने विकास के विकास ? यहाँ विकासका नाममा तल्लो समुदायमा परनिर्भरता बढाइरहेको छ । भुइवर्गहरु अझ माग्ने भइरहेका छन् । विकास र उत्थानका नाममा रङ्गिन ललिपप देखाएर आफ्नोपन र मौलिकता बिर्साउने विकासलाई कसरी विकास भन्नु । प्राकृतिक स्रोतको संरक्षण नगर्ने दोहनको नीतिलाई कसरी विकास भन्नु ? भूमिको सही उपयोग नगर्ने विकास के विकास ? साँस्कृतिक विविधतामा एकता स्थापित नगर्ने विकास के विकास ? सतही रुपमा मात्रै छरिएको बजेटले कहिल्यै पनि पिँधमा रहेको समुदायलाई समेट्न सक्दैन । यहाँ यहि भाष्य स्थापित रहुञ्जेल अवस्था यहि नै रहन्छ । गरिबहरु झन गरिब नै रहन्छन् । युवाल पलायन भइरहन्छन् । पहाडहरू रित्तिरहन्छन् । र कसैको स्वार्थमा अर्थहिन संरचनाहरु बनिरहन्छन् ।
अहिलेको विकास परिपाटीमा स्थानीय ज्ञान, सीप र क्षमताको उपयोगको गतिलो उदाहरण कतै देखिएको छैन । कृषिमा रैथाने उत्पादनलाई प्रोत्साहन गरेको कहीँ देखिदैन् । जुन उत्पादन हाम्रो माटोमा बर्षौदेखि उत्पादन भएर आफ्ना भएका थिए तिनको संरक्षण र विकास भएको कतै देखिदैन । हाम्रा गाउँ समाजका रैथाने ज्ञानको जर्गेना र सही उपयोग गरेको र तिनको संरक्षण र विकास गरेको कतै देखिदैन । कतिपय राम्रा रितिरिवाज, परम्परा र संस्कृतिहरु लोप भइरहेका छन् । तिनको संरक्षण, सम्बद्र्धन र परिचालनको योजना नै हुँदैनन् । अहिलेको हाम्रो समाज परसंस्कृति ग्रहण गर्न मात्रै उद्यत छ । जहाँ आफ्नो पहिचान नामेट भइरहेको छ । जहाँ आफ्नोपन नै पाइदैन । त्यस्तो संस्कृतिको विकासले हामीलाई कहाँ पु¥याउँछ ? त्यही संस्कृतिलाई मलजल गर्ने अहिलेको विकास संस्कृतिलाई हामीले कसरी आफ्नो मान्ने ?
दाताको सर्तमा माथिबाट लादिएको निर्माणको खास महत्व हुँदैन । जसले पिँधमा रहेको वर्गलाई चिन्दै चिन्दैन । मौलिक उत्पादन र उत्पादकत्वलाई त्यसले प्रोत्साहन गर्दै गर्दैन । त्यसले रैथाने ज्ञानको पूर्ण वेवास्ता गर्छ र निरन्तर रूपमा मौलिक रहनसहन, चालचलन, रितिरिवाज र संस्कृति भत्काइरहन्छ । रैथाने उत्पादनहरु निकम्मा हुन्छन् । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले गाउँ र सहरमा स्थान पाउँछन् । भुइँवर्ग लक्षित त्यस्ता गुणस्तरहिन उत्पादनले मानव स्वास्थ्यलाई गम्भिर असर पु¥याउँछ । जो महङ्गो स्वास्थ्य सेवाको पहुँचबाट बाहिर छ । तिनीहरु केवल मृत्यु कुर्नुभन्दा अरु के नै पो गर्न सक्छन् र ? त्यस्तो विकासमा आफ्नोपनको आभाष कसरी गर्ने ? आफ्नो उत्थान र विकासको परिकल्पना यस्तो विकासको रणनीतिबाट कसरी गर्न सकिन्छ ? यस्तो किसिमको विकासको परिपाटीलाई आफ्नो लागि हो भनेर कसरी मान्ने ? यसरी कुनै अर्थमा पनि आफ्नो हुन नसकेको विकासमा जनताको अपनत्व रहन्छ र ?
समुदाय, संस्कृति र माटोमैत्री नभएको र आफ्नोपन भुलेको विकासले कहिल्यै समाज विकसित हुँदैन । कंक्रिट संरचना निर्माणले मात्रै समाज विकसित हुँदैन । नयाँ समाज निर्माणका नाममा परसंस्कृति ग्रहणले त झन् मौलिकता र पहिचान नै नामेट हुन्छ । विकासमा नविन सिर्जना र निर्माण मात्रै हैन पुननिर्माण, पुर्नउत्थान र पुनरोदयले बढ्ता महत्व राख्छ । विकासमा खास समुदाय र वर्गको भावनाले महत्व राख्छ । विकासमा खास समुदाय र वर्गको भावनाले महत्व राख्छ । विकासमा समयको पहिचान र प्रविधिको प्रयोगले महत्व राख्छ । विकासले जवरजस्ती भन्दा पनि आत्मिक रुपान्तरणले महत्व राख्छ । त्यसैले विकासको सम्बन्ध समाजसँग हार्दिक हुनुपर्छ । समुदायको अपनत्वयुक्त आत्मिक विकास नै अहिलेको आवश्यकता हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक