हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित
कपन अनलाइन
काठमाण्डौ ,पुस ३०।
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा मंगलबार पुष्पसदन हाईस्कुलका लियोन महर्जनले हार्दिक पन्तलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेका छन् ।
१२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिकको चुनौती पन्छाएका हुन् । हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् । उनले पहिलो चरणमा ईश्वर लामा (१५५१) र दोस्रो चरणमा अनमोल राई (१५३४) लाई पराजित गरेका थिए । उनले चौथो चरणमा वुधबार १६०७ रेटेड रोहित श्रेष्ठविरुद्ध खेल्दैछन् ।
हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्सको तेस्रो दिन शीर्ष वरीयताका अभिक शाह (१९१८ रेटेड) र सजल न्यौपाने (१६९७) ले पनि शतप्रतिशत जितलाई कायम राखे । सेन्ट जेभियर्स कलेजका अभिकले शुभांग प्रधानलाई पराजत गरे भने द ब्रिटिश कलेजका सजलले निहाना श्रेष्ठको अपराजित यात्रामा पूर्णविराम लगाइदिए । चौथो चरणमा वुधबार अभिकविरुद्ध सजलको खेल हुँदैछ ।
तेस्रो चरणका खेलमा अग्रता आचार्यले सात्विकमान तुलाधर, रोहित श्रेष्ठले रेयांश खनाल, विमश लोहनी ईश्वर लामा, अनमोल राईले नायुमा मगर, आशिर्वाद थापाले अभिक रेग्मी, प्रवीर केसीले रेयांश महर्जन, उजिभानी कँडेलले विराज सरिया, निवा राईले रियांशु पौडेल, वियांका गौतमले श्रेयांश सापकोटा, सूर्यप्रताप सिंह कार्कीले ओजस्वी श्रेष्ठ र अरण्य तुलाधरले अभियान राईविरुद्ध जित निकाले ।
काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालित प्रतियोगितामा अभिक, सजल र लियोन तेस्रो चरणसम्म शतप्रतिशत जितसहित शीर्ष तीन स्थानमा छन् । प्रत्येक जितमा ३ अंक दिइने नियमानुसार यी तीन खेलाडीले ९–९ अंक बनाएका छन् । १३ खेलाडीले ६–६ अंक जोडेका छन् । दस खेलाडीको खातामा ३ अंक रहेको छ । चार खेलाडी अंकको खाता खोल्न संघर्षरत् छन् ।
स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ । प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेटसँगै ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहेपनि खेलाडीका स्तरबृद्धि लागि उपयुक्त मानिएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमीकी संस्थापक मोनालिशा खम्बू बताउँछिन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरिरहेका छन् ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । त्यसैले उसको ११ औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस ।
चेसलाई प्रवद्र्धन र विकास गर्ने उद्देष्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो ।
