गर्न सिकौं मेल बालगीत तथा कविता सङ्ग्रह एक विवेचना : सदानन्द अभागी (समिक्षा)
कपन अनलाइन
काठमाण्डौ,बैशाख २२।
नेपाली साहित्यमा बाल– साहित्यको इतिहाँस त्यति पुरानो छैन । गंगाधर शास्त्री द्राविणले “गोर्खा पैह्ला किताब” (पहिलो भाग, वि.सं. १९४९) प्रकाशनपछि बालसाहित्यमा जयपृथ्वीबहादुर सिंहले बालसाहित्यलाई अगाडी बढाए र अतुलनीय योग दान पु¥याएको कुराहरू बालसाहित्यको इतिहासमा पढ्न पाइन्छ । तर अलिखित बालगीतका कुरा गर्ने हो भने मानव जीवनको उत्पत्तिको साथसाथै बालगीतको थालनी भएको हो भन्न सकिन्छ । किनकी बालबालिकालाई खेलाउँदा, कोर्कामा हल्लाउँदा, खाना दुवाउँदा आमा ,दिदी बाबाले सुरेली हालेर गाइएका आवाजहरू नै बालगीत थिए÷हुन् । आज आएर बालसाहित्यमा कलम चलाउनेको संख्या तीब्र गतिमा अगाडी बढेको पाउँछौं । यसै सिलसिलामा मेघराज ढकालजीको “गर्न सिकौं मेल बालगीत तथा कविता सङ्ग्रह” मेरोहातमा आएको छ । मेघराज ढकाल (२०१३) एउटा स्थापित साहित्यकार हुनुहुन्छ । करिब आधा दर्जन विविध नेपाली साहित्य विधामा कलम चलाउनु भएका ढकालजी अंग्रेजी भाषामा ४ कृति सहलेखनमा प्रकाशित भएका छन् भने “सिर्जना गाथा” महाकाव्य सहित चार कृति प्रकाशोन्मुख रहेका छन् ।
कृतिभित्र प्रवेश गर्दा– मेघराजजीको यो कृति बालगीत र कविता गरी मिश्रित रूपमा आएको छ । यसमा ३३ ओटा सिर्जना समावेश गरिएका छन् । बाल कविता तथा गीत लेखन कार्य त्यती सहज छैन । बालकको अन्तर आत्मालाई छुन सक्नु पर्छ र बाल मनोविज्ञानलाई बुझेर बाल साहित्य सिर्जना हुनुपर्छ । मेघराजको यो प्रयास प्रशंसनीय छ । बालबालिकालाई राम्रो सन्देश दिनसकेमात्र उनीहरूको भावी जीवन उज्ज्वल हुन्छ,। सन्तानको भावीजीवन उज्यालो बनाउन चाहाने आमाबाबाले छोराछोरीलाई दिएको सुझाव तोड्न नहुनेमा सन्देश कविले यसरी दिएका छन् –
आमाको आदेश नतोड
बाबाको सुझाव नछोड
लोभी र पापी संसारमा
बुझेर हिँडौ जीवनमा
(पृष्ठ १, श्लोक १)
आजका बालक भोलीका चालक हुन् र यिनको बाल मस्तिष्कमा भावी जीवनको सफल मार्गको रेखा निर्माण कस्तो बनाउने हो त्यो पनि बालक कालमै अभिभावकले बनाउन सक्छा् । कविले यहाँ कविले हत्या हिंसा त्याग्ने, दुखीको सेवा गदै शान्तिप्रिय र देश निर्माणमा लाग्ने बालबालिकालाई सन्देश यसरी सिदएका छन् –
बुद्धको अर्ती मानेर
हत्या र हिंसा छाडेर
दुखीको सेवा गर्ने छौंँ
आजका हामी बालक
देशको रक्ष गर्ने छौंँ
पृष्ठ ३. श्लोक ४)
कवि मेघराजजीले बालबालिकालाई प्राकृतिक सौन्दर्यता, प्राकृतिकबाट प्राप्त बस्तुको उपभोग, त्यसबाट मानव जीवनमा पर्ने सकरात्मक प्रभाव तथा नकरात्मक प्रभाव, जन धनको क्षती आदि विषयमा जानकारी गराउने प्रयास गर्नु भएको छ–
सडकमा थरी थरी मान्छे आउन थाले
होसियार होऊ भन्ने ज्ञान दिन थाले
आगोसँग होसियार, खोलासँग होसियार
चरीबरी हैन रे बाँदरमा होसियार
बाच्छीसँग हैन रे कुकुरमा होसियार
बाटो काट्दा नबोल्नु मोवाइलमा सोसियार
(पृष्ठ २६, होसिया्, श्लोक १)
असार, साउन, भदौमा पानी पर्छ बेस्सरी
बढी र पैरा खोलाले बगायो बस्ती कसरी
मोटर बाटो रोक्छ रे घर र गोठ लक्ष।री
बगाई लाने गर्छ रे होसमा बस्न पर्छ रे
(महिना र खतरा, पृष्ठ ३९, श्लोक १,)
बालबालिका सकरात्मक तथा नकरात्मक सोच मनबाटै आउने हुँदा कविले यस्ता बिचारमा अभिभावकले बालबालिकालाई सकरात्मक बाटो डो¥याउनु पर्ने हुन्छ । कविले प्रस्तुत गरेको सकरात्मक पक्षको धारणा यस प्रकार छ –
काव्यकथा, कविता नि मनै बाट आउँछ
राम्रो सोच ज्ञानगुन मनै बाट आउँछ
सानालाई दयामाया ठूलालाई मान
गर्न पर्ने रैछ आफ्नो मनै बाट जान
(मनैबाट आउँछ , पृष्ठ ३२, श्लोक १)
बाल बालिकालाई आजको काम आजै गर्नु पर्छ भन्ने सन्देश दिन पनि कवि पछि परेका छैनन् ।
भोली भन्न हुन्न रे
आजको काम आजै रे
भोली कहिल्यै आउन्न
आजको मूल्य बुझौ रे
(भोली भन्न हुन्न रे, श्लोक १, पृष्ठ २८)
बचत गर्ने बानी हुन पर्छ भन्ने धारणा यसरी आएको छ –
पाए जति दक्षिणा
खुत्रुकेमा राखौं रे
ल्याउँछ यल्ले लच्छि
जम्मा गर्न सिकौं रे
(दक्षिणा, पृष्ठ २४, श्लोक १)
बाल बालिकालाई जातिय पहिचान सिकाउँदै कवि लेख्छन् –
वीरता हाम्रो सान हो
इमान हाम्रो मान हो
सत्य र न्या धर्म हो
मौरीको जस्तो कर्म हो
(माटाको माया बढाऊँ, श्लोक२, पृष्ठ १५)
नेपाली हाम्रो जाति हो
खुकुरी शान लगाइ
संसार भर लडेका
वीर रधीर भनेर
विश्वमा हामी फैलेका
(नेपाली हामी जानौँ र,पृष्ठ १३, लोक १)
प्रस्तुत शैली – बास्तवमा बालगीत तथा कवितामा भाष गत कुरा गर्दा ढकालजीको भाषा न त्यति सरल न त्यति जटिल छ । भाषा शिष्ट हुँदा हुखै पनि सरलताको रूपमा हेर्दा मध्यम खालको छ । लयात्मकको दृष्टिकोणमा गीत भनेपछि गाउन सकिने नै भयो तर अरू कविताको हकमा प्राय सबै कविता लयहालेर पढ्न सकिन्छ । सुन्दर प्रस्तुती छ । लेखनको हिसावले हेर्दा केही कविता तथा गीत बालस्वभामा मेलखाने खालका छन् । बालमनो विज्ञानलाई पनि ध्यान दिनु पर्ने हुन्छ । यसमा पनि ढकालजी प्रयत्नरत हुनु हुन्छ । ढकालजीको पहिलो प्रयास भए पनि बालगीत तथा कविताहरू सवलरूपमा आएका देखिन्छन् ।
निष्कर्ष– कवि मेधराजजीले बालबालिकको भविष्य निर्माण गर्ने खालका गीत र कविताले यो कृति सजिएको छ । यस कृतिमा कविले पारिवारिक सम्बन्ध, मातृपितृतर्फ आदरभाव, औँसीमा जुनकीरीको प्रकाश, बालक भविष्यका चालक, थैलीको महत्व, झोलाको आकार, हावाको वितण्डता,कमिलाको ताँती, माहुरीको सीपलाई ध्यान दिएर काम गरेमा धनी भइने, दशै तिहारमा दाजु भाइ, दिदी बहिनीबाट गरिने टीका परम्परा, माटोप्रतिको माया, बालबालिकाको साथी भनेकै पुस्तक, देश माथि बढाउन हामीमा मेलमिलाप गर्नु पर्ने, हितको बाटो समाउनु पर्ने आदि विविध भावनाको प्रतिनिधित्व गर्ने खालका कविता तथा गीत प्रस्तुत गरेर बाल साहित्य निर्माणमा एउटा सवल इटा थप्नु भएको छ । उहाँको भावी साहित्यिक जीवन अझै मौलाउँदै जावस् शुभकामना !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।