शुभकामना : शेखर अर्याल ( लघुकथा)
कपन अनलाइन
काठमाडौं , बैशाख १५।
सूर्यका किरणले धर्ती स्पर्श गरेपछि गोधुलीलाई चन्द्रको शीतलताले डाक्दै थियो । समस्त जनमा उत्साह उमङ्ग फैलिएकै समय सूर्यले भन्यो, ‘तीनसय पैँसठ्ठी दिनमा एक दिन पनि अँध्यारोको आभास भएन तर मभित्र कदापि शीतलता प्राप्त भएन खै ?’ यो प्रश्न सुनेको चन्द्रले जवाफ दियो, ‘ठिकै हो, मलाई त शीतलताको अनुभूति भयो तर ताप र रापको अभाव भने सधैँ रह्यो ।’
सन्ध्यापछिको स्निग्ध समयमा सूर्य र चन्द्रको भलाकुसारी क्या रफ्तारमा बगेकै बेला सूर्यले भन्यो, ‘तिमी त कति नरम, चाँदनीको स्वरूपमा रही सबैको मन आल्लाहादित तुल्यायौ तर म भने सधैँ खरो अनि तापैतापले सकिने भएँ नि विगत वर्ष जस्तै ।’
‘हो, जकडिएर रहेका असभ्यपन, कुसंस्कार, बेइमान, भ्रष्टाचार, अत्याभचार, राष्ट्रद्रोही सोच, आलस्य अनि अल्छीपन तपाईँको किरणले भष्म गरे मानव मनमा शीतलता आउने छ, कि कसो दाजु ?’ भन्दै एकै श्वासमा चन्द्रले जवाफ फर्कायो ।
बाह्य रूपमा शीतलपन रहे पनि चन्द्रको मन हिउँको रापसँगै भतभती पोलेको थियो । धीर स्वरमा सूर्यले भन्यो, ‘भाइ, तिमीले भनेको सत्य होला तर राप र ताप मात्र भएर के गर्नू, धर्तीमा शान्ति नभएसम्म मन सधैँ छटपटाउने रहेछ हैन ?’
‘दाइ, तपाईँले भनेको सत्य हो, अब आउने सालमा बाह्य रूपमा ज्वाला र ताप भए पनि मन शीतल बनाई धर्ती र धर्तीका मानवलाई शान्त पार्नू है ? मेरो शुभकामना ।’ चन्द्र न्यानोको खोजीमा उन्मुख भयो ।
‘म तिमीले भने जस्तै गरुँला तर तिमी पनि बाह्य रूपले शीतल देखिए पनि मनमा राप र ताप बोकेर धर्ती र धर्तीका मानवलाई धीर बनाई अगाडि लैजानू है ?’ सूर्यले पनि शुभकामना दियो ।
‘हो, तिमीहरू सफलताको सोच राखी शुभकामना दियौ तर म भने गणतन्त्रका बारेमा नयाँ वर्षको पुरानो शुभकामना दिन्छु ।’ भन्दै चकमन्न मध्य रातमा संवाद सुनिरहेको वायु जोड जोडले कराउँदै थियो बा !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।