कान्छीको पाठो : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं , बैशाख १५।
म खोरभीत्र थुनिएको एउटा निरिह जन्तेबाख्रो
बेफिक्र टाट्नोको घाँस खाएर उघ्राइरहेको बेला
मासुका पारखीहरूले मलाई बलजफ्ती घिच्याएर
बिहेघरकै करेसामा लगी मार हान्ने हतारो गर्छन्
म अक्क न बक्क पर्छु, भयले जिउँदै मरेतुल्य हुन्छु
मेरा निर्वाच्य आँखाहरू चौतर्फी घुम्न थाल्छन्
कोही भुत्ला खुइल्याउन पानी उमाल्न थाल्छन्
कोही मासु टुक्र्याउन केराको पात ओच्छ्याउँछन्
कोही मलाई गिड्न रेती लगाई कत्ती उद्याउँछन्
बिसम परिस्थिति देखेर मेरो मन अतालिन्छ
म भाग्न खोज्छु, मलाई जकडेर अठ्याइन्छ
रमिते बिच मेरो घिच्रोमाथि तरवार ताकिन्छ
अनायस मेरा बिवस आँखाहरू कान्छीसँग ठोक्किन्छन्
तर बेहुली कान्छीबाट उपेक्षाको प्रत्युत्तर आउँछ
तब मेरा अतितहरू पुर्वदीप्ती बनी घुम्न थाल्छन्
जब म लम्बकर्णे पाठोलाई मने मने भन्दै
कान्छीले हरदम आफुसँग खेल्न बोलाउँथिन्
म आफ्नी प्यारी माउको लाम्टा चुस्न छोडेर
बुरुक बुरुक उफ्रदै, बुथुरे पुच्छर हल्लाउँदै
चुलबुले बालापन बोकेर खुशीले म्याँ म्याँ गर्दै
बालकृडाको चरम आनन्दले प्वाँक्क पर्दै
म कान्छीको पाठो नामक पेवा बाख्रो हरदिन
मेरी बालसखी कान्छीको समिप जान्थें
म कहिले उनको काखमा लडिबुडी खेल्थें
कहिले छुनुमुनु गर्दै उनको बुई चढ्थें
कान्छीसँग आँगनमा लुकामारी खेल्दाखेल्दै
दिन ढलेको हामीलाई अत्तोपत्तै हुँदैनथ्यो
गोधुली साँझमा चराहरू गुँडतिर फर्कन्थे
मेरी साथी चुल्ठी हल्लाउँदै घरतिर कुद्थिन्
म पनि कुरिहरेकी माउ खोज्दै खोरतिर दगुर्थें
समय कोल्टियो, जवानीले संघार टेक्यो
म पाठोबाट गन्धे बोकोमा परिणत भएँ
कुखुरे बैंशसँगै कान्छी पनि युवती भइन्
म पाठीहरूसँग मात्र लुकामारी खेल्न थालें
कान्छी पनि इतर लिंगी दौंतरीसँग रम्न थालिन्
हामीबिच घुलमिलको दूरी बिस्तारै बढ्न थाल्यो
जवानीसँगै मेरो यौनिक उदण्ताले सीमा नाघ्यो
मेरो अण्डकोष च्यापेर मलाई खसी पारियो
मलाई मासुको खातिर पोसेर थसुल्ले बनाइयो
कान्छी पनि डाँडाघरे कान्छोसँग पोइला गइन्
बाबुआमाले भगुवा छोरीको बिहेको कुरो छिने
बिहेघरको दलिन र आँगनमा बहार छायो
सेलरोटी र कसारको खुश्बुले गाउँ नै मग्मगायो
सखीकै बिहेमा सहिद हुनलागेको यो अभागी बाख्रो
उनैलाई सअश्रु शुभकामना दिदै अलबिदा हुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक