दिव्य गिरी र स्वप्निल शिविर : ममता मृदुल (समिक्षा)
कपन अनलाइन
काठमाडौं, फागुन २६।
काठमाडौं, फागुन २६।
विषय प्रवेशः
दिव्य गिरी, जन्मः २०११ साल कार्तिक ७, माता मिनु गिरी पिता भरत गिरीका सुपुत्रका रूवमा दिव्य गिरीको जन्म भएको हो । शिक्षा बीए रहेको छ ।
नोकरी सरकारी डेढ वर्ष र त्रि.वि.वि.मा ४३ वर्ष ११ महिना गर्नु भयो । प्रकाशित साहित्यिक कृतीहरू मुक्तक सङ्ग्रह कङ्काल बस्ती र स्वप्निल शिविर छन् ।
गजल सङ्ग्रह सागर लहर किनार, कथासङ्ग्रहहरू अनामिका र ईश्वरको अनुहार, लघुकथा सङ्रग्रह भेडीगोठ र भेडो र पुत्लादहन, हाइकु सङ्ग्रह धुनी तापेर, त्जभ व्गदष्बिलत एबिथ, भइँकुहिरो र संस्मरण सम्झनामा शकुन्तला प्रकाशित भएका छन् ।
आयामः
संक्षिप्त आयामका मुक्तक छन् । चतुष्पदिय मुक्तक लेखिएका छन् । एक सय एकवटा मुक्तक सङ्ग्रहमा सङ्गृहित छन् । सरल रूपमा लेखिएका मुक्तकमा विविध विषय समेटिएका छन् । चौरासी पेज रहेको छ ।
मुक्तक सङ्ग्रहभित्र पस्दाः
पहिलो मुक्तकमा
फूलले चारैतिर सुवास बहाएजस्तो
बैँसालुको शिरमा गुराँस सुहाएजस्तो
कति सुकिलो र मोहक देखिएकी तिमी
भर्खरै हिमालले वर्षात् मा नुहाएजस्तो
प्रेममा परेका बेला प्रेमीले आफ्नी प्रेमिकालाई व्यक्त गरेको भाव रहेको छ । प्रेमिकालाई हिमालले बर्सात् मा नुहाएको जस्तो कल्पना गरिएको छ ।
चौधमा
सबैलाई ढकमक्क फूल फुलेको मन पर्छ
कसैलाई साँझपख हिमाल जलेको मन पर्छ
फूल र हिमालभन्दा धपक्क बलेकी तिमी
मलाई तिम्रो सुन्तले ओठहरू खुलेको मन पर्छ ।
फूल र हिमालसँग आफ्नी प्रियतमाको तुलना गरिएको छ। उनको ओठलाई सुन्तलासँग तुलना गरेर खुलेको मन परेको भाव व्यक्त गरिएको छ।
अठहत्तरमा
उहाँसँगै इमानदारिताको सगरमाथा छ
उहाँसँग नैतिकताको अग्लो धरहरा छ
अब उहाँमा निकै परिवर्तन हुने सुनिन्छ
किनकि उहाँ पनि मन्त्री हुनु भा छ ।
मान्छे पहिले इमानदार हुन्छ नैतिकता पनि हुन्छ तर जब राजनीति गर्छ उस्ले आफ्नो इमानदारी र नैतिकता बिर्सन्छ भन्ने भाव व्यक्त गरिएको छ ।
एक सय एक अर्थात अन्तिम मुक्तक
उत्तरतिर चाँदीझैँ टल्किरहेको त्यो सेतो हिमाल हो
माछापुच्छ्रेले आफ्नो मुहार हेर्नु त्यो ऐना फेवाताल हो
जहाँको प्राकृतिक छटा हेरेर दङ्ग पर्दै हुनुहुन्छ तपाईं
बुध्द, पृथ्वी, अमरसिंहको जन्मभूमि त्यो यहीँ नेपाल हो ।
नेपाल सुन्दर छ । उत्तरतिर चाँदीझैँ टल्किने हिमाल छ । माछापुच्छ्रेले आफ्नो मुहार फेवातालमा हेर्ने कुरा उल्लेख गरिएको छ । जहाँ प्रकृतिको अनुपम छटा छ हेरेर दङ्ग परिन्छ त्यो ठाउँमा बुध्द, पृथ्वी र अमरसिंहको जन्मभूमि नेपालको वर्णन गरेर लेखिएको छ ।
भाषाशैलीः
सरल नेपाली भाषामा लेखिएका मुक्तक छन् । प्रेम, धोका, समाज, राजनीति हिमाल पहाड उकाली ओराली नदी खहरे फूल तस्बिर जस्ता सुन्दर विषयलाई बिम्ब बनाएर लेखिएका मुक्तक छन् ।
परिवेश :
प्रेममा डुबेर लेखिएका छन् । नेताका कुरा राजनीतिले राम्रो अथवा नैतिकवान र इमानदारलाई पनि गलत बाटोमा पु¥याउछ ।
नेपाली भूमिका विभिन्न ठाउँ सुन्दर दृश्यलाई परिवेश बनाएर लेखिएका मुक्तक छन् । हिमाल, फेवाताल, सिंहदरबार, मन्दिर, सुदुरका सुन्दर उकाली ओराली, नदी, पहाडआदीलाई समेटिएका छन् ।
उद्देश्य :
स्वप्निल शिविर मुक्तक सङ्ग्रहभित्रका मुक्तकमा समाजका विकृति विसंगतिलाई केलाइएको छ ।
नेताको आचरण, घाइते भएको छु तिम्रो नजरको तीरले, खोसेर जनताको खुसी आफूमात्रै रमायौँ , तिम्रो मनको नगरमा बास पाउँछु कि,एकै नजरमा माया बस्न गएपछिजस्ता मुक्तकले पाठकलाई समेत राजनिती गर्नेले र सामन्तीले गरिबका घरवार ताक्छन् भनेर सचेत गराइएका छन् । गरिएको भरोसा नतोड्न सचेत गरिएको छ ।
निश्कर्ष :
स्वप्निल शिविर मुक्तकभित्र प्रेम, बेरोजगारी, नामको खोजी, युवालाई स्वदेशमा नै काम दिन नसकेकोमा चिन्ता, जिन्दगीको परिभाषा, राजनीति प्रतिको व्यङ्ग्य, प्रेममा पर्खाइ, आफ्नो परिवेशलाई समेटिएका छन् । हिमाल, फेवाताल, हरिया डाँडाकाँडा मन परेका कुरा छन् । सुन्दर चाहना राखेर लेखिएका मुक्तकले आफ्नो हरेक पक्ष खोजी गरेको छ । समाजमा देखिएका खराब पक्षसँगमात्रै होइन प्रेममा पनि न्याय खोजिएको छ । मुक्तककार दिव्य गिरीको सफल साहित्ययात्राको कामना गर्दै आजलाई विदा माग्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।