साथी : राजेश अधिकारी (कविता)
कपन अनलाइन
काठमाण्डौ,फागुन ५।
छायाँ सदा पछ्याउँछ मेरो मिल्ने साथी बनी
छोड्दैन साथ मेरो जस्तै बिपत आए पनि
म रोए ऊ रोइदिन्छ म हाँसे छायाँ हाँस्दछ
प्रतिरुप नै हो ऊ मेरो म नाचे ऊ नाच्दछ ।
ऐना सदा मख्ख पर्छ मैले हाँसी हेरें भनें
जिस्किहाल्छ मेरो दर्पण यदि मैं जिस्कें भनें
मेरो सच्चा साथी ऐना मेरै लागि बनेको छ
पीडा ब्यथा जिन्दगीको मैले जस्तै सहेको छ ।
मनको कुरा बुझ्ने नै साथी बन्दछ सर्बदा
साथीको प्रेम हुन्छ जगको अतुल सम्पदा
थिइन् आमा मेरी साथी जब थिएँ म बालक
थिएँ म प्रेमको पिन्ड जननी मेरी लालक
साथी झैं थिए बाबा डुल्थें उनको काँध चढी
खेल्थें हास्थें लाडे पल्टी खोज्थें बाबा हरघडी ।
आमाबाबा नै सदैव इष्ट सुर्य र चन्द्र झैं
नथाक्ने कबै प्रेम पोख्न सदैव सन्तानमै
गुणी साथी जगतभरमा भेटिन्छ बिरलै
जन्मदाता हुन् सच्चा साथी त्रिलोकमा निश्चितै ।
साथी बिचको विश्वाश बन्छ अभेद्य कवच
आपसी हित गर्दा नै मिल्छ प्रेमको श्रीपेच
धनी गरिब बिभेद हुन्न साथी र साथीमा
साथीत्व दिगो कहिले हुन्न छुपेको स्वार्थमा
तन्नम थिए सुदामा श्रीकृष्णका प्रिय सखा
साथीलाई सर्वस्व देख्थे स्वयम् कृष्णका आँखा ।
जन्म देखि मृत्यु पर्यन्त यात्रा छ जीवनको
दुखसुख र घामछायाँ नै साथी हुन् प्राणीको
सागर भन्दा गहिरो हुन्छ साईनो साथीको
लोकमा हुन्छ साथीको स्थान नभ झैं माथिको ।
खुनको नाता भन्दा उचो हो सम्बन्ध साथीको
निम्ठो हैन साथीको माया झुसी मानापाथीका ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक