म हेमन्त :त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
काटी आएँ, मार्ग शरद्को
छाँटी आएँ, स्वार्थ जगत्रुको
टेक्दै आएँ, हिँमको छानो
खाँदै आएँ, सुखको मानो ।
बढ्दै जाडो, हिमालटेक्ने
वैभव मेरो, विशाल देख्ने
बलियाबाङ्गा, छट्पट गर्छन्
बुढा र पाका, मार्छ कि भन्छन् ।
हुस्सु पठाई, ढाक्छु बिहान
बरफ हाल्दै, छेक्छु मुहान
छर्दछु शीत म, सात्तो खाने
यत्ति नि नगरे, इज्जतजाने ।
हैन म वर्षा, पानीपार्ने
ग्रृष्म कहाँहूँ?गर्मी झार्ने
नाँच्छ सिरेटो, ताली म ठोक्छु
बढ्दछ जाडो, गाली म बोक्छु ।
थर्र डराई, कोट लगाऊन्
किन्नु छ स्वेटर, नोट लगाऊन्
चिन्नु छ सबले, जाग्छु म जाग्छु
गरिब जनमा म, माफी माग्छु ।
अग्लाचुचुरा, बाटो मेरो
बेंशीतिरको, पाटो मेरो
नाङ्गापथको, बाधक मै हूँ
सिर्जन भरको, शासक मै हूँ ।
भाइ शरद्ले, भन्छ मलाई
र शिशिर आई भन्दछ दाइ
भन्दछ दुनियाँ, आँत कडा हो
कट्कट टोक्ने, दाँत कडा हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक