लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
बा ४ ख ५५ १५ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना ८ ख ८४ ९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग १ ख २५ ३१ नम्बरका हाइस चालक चितवन घर भएका ३७ वर्षीय डिल्ली राम काफ्ले र ग १ ज ८० ९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रदेश १-०२- ००१ ख ९३ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रविण स्याङ्तान, बागमती प्रदेश ०१-०२६ च ८९ ८४ नम्बरका पिकअप चालक सिन्धुलीको तिनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई(परियार) र बागमती प्रदेश ०१-०२५ च ७९७ नम्बरका पिकअप चालक उदयपुरको कटारी नगरपालिका ९ का २४ वर्षीय राम कुमार खत्रीलाई पनि लापसे गरी सवारी साधन चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन ।