डायस्पोरा : शीतल गिरी (लेख )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९।
केहि समय विदेशमा बसेपछि आफूलाई डायस्पोरा ठान्ने र उतै बसेर वा स्वदेश फर्किएर लेखिएको रचनालाई डायस्पोरिक भन्ने गरेको पाइन्छ । अल्पज्ञान वा अनभिज्ञताका कारण डायस्पोरा शब्दको अपव्याख्या र अनावश्यक प्रयोगले अन्यौल उत्पन्न गरेको छ । अब डायस्पोरालाई सबैले बुझ्नेगरी अर्थाउनु आवश्यक
छ ।
डायस्पोराबारे विचार गरिनु पर्छ, बहस गरिनु पर्छ, सुझाव संकलन गरिनु पर्छ । अनिमात्र निर्वासन, विकीर्णन, विस्थापन, प्रवास, आप्रवास, गैरआवासीय र डायस्पोरा बीच समानता÷असमानता के छ खुट्याउन सकिन्छ । यसो त डायस्पोरा सकारात्मक अर्थबोधक शब्द नभएर नकारात्मक अर्थबोधक शब्द हो ।
डायस्पोराको लागि कसैकसैले देशपारीय शब्द पनि प्रयोग गर्ने गरेको पाइन्छ ।
डायस्पोराको सट्टा प्रवासी, आप्रवासी परिभाषित गरेको पनि देखिन्छ । वौद्धिक–प्राज्ञिक ढङ्गबाट हुनुपर्ने जति छलफल हुनसकेको जस्तो लाग्दैन ।
डायस्पोराको सम्बन्ध प्रवासिनु वा विदेसिनुसँग रहेको छ ।
विदेशमा प्रवासिँदा, बसाइँ सर्दा वा छरिएर बस्दा सम्बद्ध देसको सामाजिक–साँस्कृतिक परिवेशजन्य भिन्नताले जीवनभोगाइमा सङ्कट उत्पन्न हुँदाहुँदै पनि त्यही सङ्कटका बीच बाँचिरहेका मानिसहरू नै डायस्पोरा हुन् ।
हिजोदेखि आजसम्म अनेक कारणबाट थुप्रै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विदेसिने क्रम चलिनैरहेको छ । मानिसहरू बाध्यात्मक वा स्वेच्छाले विदेसिएका छन् । व्यापारव्यवसाय, सैन्यकर्म, अध्ययन, राजनैतिक अस्तव्यस्तता, धार्मिक हिंसा, प्राकृतिक प्रकोप, शरणार्थी र युद्धपीडित भएर सुखसुविधाको खोजीका लागि मानिसमा विदेसिने प्रवृत्ति पाइन्छ । कतिपय शिक्षा आर्जन, कमाइधमाइ पछि पनि बाध्यात्मक परिस्थितिका कारण स्वदेश फर्किन सक्दैनन् र त्यतै बस्छन् । आफ्नो मातृभूमिबाट अलगिएर गएकाहरू मिलेर त्यहीँ एउटा भावनात्मक समाजको निर्माण गर्न पुग्छन् । वर्तमान विश्वका प्रायः अविकसित मुलुकहरूबाट विकसित मुलुकहरूमा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढ्दो छ । यसरी वीचारगर्दा मातृभूमि त्यागेर अन्यत्र स्थायी बसोवास गर्नेलाई डायस्पोरा मान्नुपर्ने हुन्छ ।
विदेशमा जतिसुकै सम्पन्न भएर अनेकौं सुखसुविधाका साथ बसे पनि प्रायः सबै व्यक्तिमा स्वदेश र आफन्तहरूप्रतिको सम्झना र सद्भाव स्मरणमा रहिरहन्छ । भौतिक रूपमा स्वदेशमा गाँसिएको द्वैध मनस्थितिमा बाँच्न बाध्य हुन्छन् र यस्तै यस्तै पीडाको अभिव्यक्ति साहित्यका माध्यमबाट गर्छन् ।
स्वदेशको भावना बोकेर विदेश गई त्यतैको जीवन भोगाईका सकस, पीडा आदिबाट विकसित वा परिवर्तित भावनालाई उतारेर वा स्वदेशको स्मरण गरेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य भन्नु पर्छ ।
द्वैध संस्कृतिको घुलमिलगरी लेखिएको साहित्य नै डायस्पोरिक साहित्य हो ।
सामान्यतया स्वदेशबाट विदेश गएकालाई डायस्पोरा र त्यहाँ गएर बसोबास गर्ने व्यक्तिहरूबाट त्यहींको भाषा, संस्कृति, रहनसहन आदि अङ्गीकार गरिसकेका लेखकहरूबाट सिर्जित साहित्यलाई मान्नुपर्छ । स्वदेशबाट जो विदेश गयो त्यहाँको भाषा, संस्कृति, रीतिथिति, चालचलन आत्मसात गरी बसेका तर आफ्नो जातीय धर्मचाहिँ जोगाएका व्यक्तिहरूबाट त्यसै अनुरुप सिर्जित रचनालाई डायस्पोरिक साहित्य भन्न मिल्छ ।
डायस्पोरा शब्द रोचक र जीज्ञासा मुलक जस्तो लाग्दछ । नेपालमा यसबारे खोजबीनको प्रारम्भमात्र भएको छ । खासगरी विदेशका लेखनलाई अति मुल्याङ्कन गरेर डलर झार्न कतिपय पल्केका छन् । केही डलरको लागि, विदेश घुम्नको लागि साधना विहीन व्यक्तिको रचनालाई महान ‘डायस्पोरिक रचना’ प्रमाणीत गर्ने यत्न पनि केही व्यक्तिले गर्ने गरेका छन् ।
डायस्पोराबारे विद्यमान भ्रान्तिहरूको निराकरण गर्न अब पटक्कै ढिलो गरिनु हुँदैन । यसको अध्ययनतर्फ रुचि राख्नेहरूले आपसमा समन्वय गर्दै अगि बढेमा स्पष्ट परिभाषा र व्याख्या नेपाली साहित्यका पाठकले पाउँन सक्ने थिए ।
नेपालबाट विदेसिई लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएकै भए पनि ती सबै डायस्पोरिक साहित्य होइनन् । डायस्पोरा हुन विदेश गई त्यहाँ स्थायी वा अस्थायी रूपमा निरन्तर बसोबास गरेको हुनुपर्छ । जुनसुकै उद्देश्य राखी विदेश गएकाहरूबाट लेखिएका र तिनमा नोस्टाल्जियाको अनुभूति भएका साहित्यलाई डायस्पोरिक साहित्य भन्न मिल्छ ? केहि दिनका लागि विदेश गएकाले विदेशमा बसेर वा स्वदेश फर्केर लेखिएका साहित्यलाई डायस्पोरिक भन्न मिल्दैन । डायस्पोरिक साहित्यको सम्बन्ध भाषासँग नभएर कथ्य वा अनुभूतिसँग हुने गर्दछ । डायस्पोरिक प्रवृत्ति झल्किने रचनालाई डायस्पोरिक भन्नु उपयुक्त हुन्छ ।
अहिले आफूलाई डायस्पोराको साहित्यकार भनाउन रूचाउनेहरूको सङ्ख्या पनि धेरै भएकाले यता छापेर उता अनि उता छापेर यता विमोचन गराउने प्रवृत्ति पनि बढ्दो छ । स्वदेश वा विदेशबाट लेखिएका कतिपय कृति नेपाली साहित्यमा विशेष उल्लेखनीय रहे तापनि ती सबैलाई डायस्पोरिक कृति भन्न मिल्दैन । किनभने विदेशी भूमिमा बसेर लेखिएका सबै कृति डायस्पोरिक हुँदैनन् । डायस्पोरालाई मात्राको रूपमा होइन गुणको रूपमा हेरिनु पर्दछ । कृतिमा डायस्पोराको के कस्तो अवस्था छ वस्तुगत जानकारीका लागि केलाउनु पनि आवश्यक छ । गहन अध्ययन गरेपछि मात्र कृति वास्तविक डायस्पोरिक हो र कुन होइन भनी निक्र्योल गर्न सकिन्छ । नेपाली डायस्पोरिक साहित्य यथासम्भव पहिचान गर्ने काम गरिनु पर्दछ ।
डायस्पोराको सैद्धान्तिक र व्यावहारिक समस्या निराकरण गर्न निःस्वार्थ ढङ्गले लागिएमा नेपाली साहित्यको श्रीवृद्धिमा यसको भूमिका उल्लेख्य हुने नै छ । विदेश बसेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूको यथायोग्य मूल्याङ्कन हुनुपर्छ । यसको लागि सर्वप्रथम त डायस्पोराको स्पष्ट रूपमा परिभाषित हुनैपर्दछ । केहीसमय पहिले नेपाल प्रज्ञा प्रतिष्ठानले डायस्पोरा अध्ययन केन्द्रको सुरूआत गरेको थियो र अवश्य नै व्यापक छलफल चलाएर निष्कर्ष निकाल्ने नैछ भन्ने लागेको पनि थियो तर त्यो अचेल हराएछ । डायस्पोरालाई पुस्तान्तरका आधारमा पनि हेरिनु आवश्यक देखिएको छ । विदेशमै जन्मिहुर्की उतै स्थायी बसोबास गरेका र स्वदेशमा पाइलोसम्म नटेकेका, भाषा, संस्कृति केही पनि नअपनाएका व्यक्ति र तिनबाट सिर्जित साहित्य डायस्पोरा भन्न सकिन्न । वर्तमानमा नेपाली डायस्पोरा साहित्यको अवस्था केही अन्योलग्रस्त देखिए पनि व्यवस्थित गर्न नसकिने पनि होइन । यसर्थ स्पष्ट परिभाषित गर्नु आजको आवश्यकता नै हो ।
परम्परा, भाषा, भावनाबाट डायस्पोरिक नेपाली साहित्य मुक्त हुँदैन । यसैको आधारमा डायस्पोरिक साहित्यको सिद्धान्त र व्याख्या गरिनु पर्दछ । डायस्पोरा भनेको स्वदेश र विदेशको भावनात्मक एकता हो । यी दुबैको योग र सम्पर्क परम्परा, भाषा, भावना नै हो । माया ममता पनि हो । यसो भएको हुँदा डायस्पोरा प्रचारगरिने बस्तु होइन, भावनात्मक प्रत्यक्ष सम्बन्ध हो ।
डायस्पोरालाई बहुअर्थबोधक एक अवधारणाको रूपमा बुझिनु पर्दछ । यसले विदेश पसेका अल्पसङ्ख्यकहरूको समुदाय, बैदेशिक संलग्नता, अनुभवको नवीनता र विलयनको प्रक्रिया जस्ता अनेक अर्थको पुञ्ज बोकेको हुन्छ । यसबारे जति अध्ययन ग¥यो सोही अनुरूप स्तर पनि बढ्दै जान्छ । गहन र निष्पक्ष अध्ययनको कमीलाई लज्जाको विषय कदापी बनाउनु हुँदैन । अध्ययन चिन्तनसाथ भनिएको कुराले सम्मान पाउँछ । डायस्पोराबारे लोकमत बनाउँन र प्रकट गर्ने विद्वानले स्वागत पाउनेनै छ ।
यसो त एउटा देशभित्रका जाति, संस्कृति, धर्म, भाषा, आर्थिक जीवनका विषयमा जे जति अध्ययन क्षेत्र हुन्छन्, ती भन्दा बढी डायस्पोरा क्षेत्रमा हुनसक्छ । स्वदेश र विदेश दुवै देशका सन्दर्भमा मात्र यसको अध्ययन सम्भव छ । डायस्पोराको प्रमुख विषय नयाँ ठाउँमा संस्कृति निर्माण र परिचय स्थापना नै हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।