फरक : ढाकामोहन बराल (लघुकथा)

फरक : ढाकामोहन बराल (लघुकथा)
 कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २६।

‘बाबा मुख्यमन्त्री र प्रधानमन्त्रीमा के फरक छ ?’ छ कक्षामा पढ्दै गरेको छोराले सोध्यो ।
‘मुख्यमन्त्री प्रदेश सरकारको प्रमुख व्यक्ति हुन्छ । प्रधानमन्त्री सँघीय सरकारको प्रमुख व्यक्ति हुन्छ्न् ।’ मैले देखेको भनेँ ।
‘प्रदेश सरकार र संघीय सरकारमा के फरक छ त ?’ छोराको प्रश्न थियो । मलाइ जवाफ दिन गाह्रो भयो । म घोरिन थालें ।
‘बाबा हजुरलाई पनि आउँदैन ?’ छोरोले मलाई चुनौती दियो ।
मलाई केही याद आए जस्तो गरेर भनेँ, ‘फरक छ नि किन नहुनु ? संघीय सरकारले कसैलाई दस लाख दिने निर्णय ग¥यो भने, झटपट् प्रदेश सरकारको बैठक बसेर तीन लाख दिने निर्णय गर्छ ।’
छोराको जवाफ दिएकोमा म मख्ख भएँ । मेरो दाहिने हात आफ्नो जुँगामा गयो ।
‘सँघीय सरकारको एउटै निर्णय गरेर तेह्र लाख दिन नमिल्ने भएर प्रदेश सरकार बनाएको हो बाबा ?’ यस पटक भने छोराको प्रश्नले म साच्चै नाजवाफ भएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।