बुढानीलकण्ठ नगरपालिकालाई नगर अस्पताल हस्तान्तरण,९करोड ९३ लाख ६६ हजार लागत
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
बुढानीलकण्ठ नगरपालिकालाई नगर अस्पताल हस्तानतरण गरिएको छ । वडा नं १० डिठ्ठाचौरमा भौतिक निर्माणको कार्य सम्पन्न भएको अस्पताल आज एक कार्यक्रम गर्दै निर्माण कम्पनीले नगरपालिका प्रमुख मिठाराम अधिकारीलाई हस्तान्तरण गरेको हो ।
आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिकामा २०७७ बैशाख १६ गतेको निर्णय अनुसार प्रतिष्ठागिरि कन्स्ट्रक्सन संग सोहि वर्षको आसार ७ गते संझौता भई काम सुरु भएको थियो ।
नगर परिषदको निर्णय अनुसार कुल लागत ९ करोड ९३लाख ६६हजार ४ सय २० रुपैँया लाग्ने अस्पताल निर्माण योजनाको लागी स्वास्थ्य मंत्रालयको ६ करोड विनियोजन भएको थियो भने बाँकि लागत नगरपालिकाले विनियोजन गरेको थियो ।
नेशनल हेल्थ सपोर्ट आर्किट्क्चुअल स्यानिटरी (NHSAS) को प्राविधिक डिजाईन अनुसार भएको अस्पताल भवन साडे तिन तल्लाको हुने छ । २४ सैयाको हुने यस अस्पतालको भुई तल्लामा आकस्मिक सेवा कक्ष, ओ.पि.डि. , प्याथोलोजि, रेडियोलोजि युनिटहरु हुने छन्। पहिलो तल्लामा प्रसाशनिक कार्यालय र आई.पि.डी (Indoor Patient Department) , दोस्रो तल्लामा थेरापेटिक युनिट (Therapeutic Unit) ,प्रसुति गृह र तेस्रो तल्लामा योगा हल, भण्डारण कोठा, प्रशिक्षण तथा वैठक हल लगायत लुगा धुने ठाँऊ हुने जानकारी नगरपालिका पुर्वाधार विकास शाखा प्रमुख सुनिल महर्जनले दिएका छन।
नगर अस्पताल कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, नगर प्रवक्ता नवराज भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं १२ अध्यक्ष शम्भु भट्टराई, वडा नं १० सदस्य चन्द्रमान श्रेष्ठ, नेपाल हेल्थ रिसर्च काउनसिलका प्रवन्ध निर्देशक डा. प्रदिप ज्ञावलि जनस्वास्थ्य विज्ञ मधु देवकोटा, नगरपालिका प्रशासकीय अधिकृत केदार खड्का, वरिष्ठ जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दाहाल, जनस्वास्थ्य निरिक्षक जिवन खतिवडा लगायत नेकपा एमालेका नगर अध्यक्ष प्रदिप डंगोल, प्रतिष्ठा गिरि कन्स्ट्रक्सनका प्रतिनिधि सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।