जब बालेन बुढानिलकण्ठबाट रिसाएर हिडे ……….
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १५।
काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन ) बुढानिलकण्ठ नगरपालिकाको आतिथ्यतामा भएको एक कार्यक्रमबाट रिसाएर फर्किएका छन।
बुढानिलकण्ठ नगरपालिकामा रहेको होटल पार्क भिलेजमा आयोजना भएको मेयर्स फोरमको पाचौ बैठकको अवसरमा भएको कार्यक्रममा बोल्ने समय नपाएको भन्दै प्रमुख शाह रिसाउदै निस्किएका हुन।
बुढानिलकण्ठ नगरपालिका होस्ट रहेको सो बैठकको शुरुवातमा नगर उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य राखेकी थिइन्। लामो समय पछि फोरमको बैठकमा आएका शाह सहित उपत्यकाका प्रमुख उपप्रमुखहरुको उपस्थितिमा स्वागत मन्तव्य राख्दै लामाले काठमाडौं काँठ क्षेत्रक नगरपालिकाहरु महानगरका साना ब्यापारी तथा अन्य नागरिक थुपार्ने स्थान जस्तो भएको धारणा राखेकी थिइन्।
त्यो संगै उपप्रमुख लामाले कपन डुवान समस्या आफ्नो नगरपालिकाको मुक्य प्राथमिकता रहेको धारणा राख्दै उनले महानगरले खोला खोलेर त्यसै छोड्नु एक प्रकारको सिमा युद्ध जस्तो रहेको बताएकी थिइन्।
काठमाण्डौ महानगरपालिका प्रमुख र उपप्रमुखका अगाडी के बुढानिलकण्ठमा मात्र खोला छन र अन्य स्थानमा छैनन् ? भन्दै प्रश्न राखेकी उपप्रमुख लामाले महानगर र बुढानिलकण्ठको सिमानामा रहेको चखुंचा खोलाको विषय पनि उठान गरेकी थिइन्।
काठमाण्डौ उपत्यकाका खोला र नदीहरुको संरक्षण र विकाश सबै नगरपालिकाहरुको सामूहिक चासो र चिन्ताको विषय रहेको बताउदै उपप्रमुख लामाले कपनमा महानगरले गरेको खोला खोल्ने एकतर्फी निर्णय प्रति घुमाउरो तरिकाले असन्तुष्टि समेत व्यक्त गरेकी थिइन्।
स्वागत मन्तव्यपछि बैठकका एजेण्डा राख्न अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले तयारी गर्दै गर्दा महानगर प्रमुख शाहले बोल्नका लागि माइक मागेका थिए।
उनले बोल्न माइक माग्दा अध्यक्ष महर्जनले एजेन्डा राखेपछि बोल्न अनुरोध गर्दै बैठक शुरु गरेपछि प्रमुख शाह नबोली पार्क भिलेज होटलबाट निस्किएका थिए।
सो बैठकमा नेपवेष्ट नामको कम्पनीलाई उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न नदिने अघिल्लै बैठकमा निर्णय भइसकेकामा फेरि त्यस विषयलाई किन एजेन्डामा राखिएको भन्दै प्रश्न गर्न खोज्दा नदिएकाले बालेन उठेर हिँडेको महानगर श्रोतले बताएको छ।