उपचार : मुरारीराज मिश्र (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ९।
‘अब सम्पूर्ण बिरामीले अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा पाउने छन् । अस्पतालका लागि बजेटको कुनै कमी हुने छैन । यहाँहरुको सबै समस्याको अविलम्ब समाधान गर्नेछु । तपाईँहरूलाई यो मेरो वचन भयो ।’ अस्पताल निरीक्षणमा आएका नवनियुक्त स्वास्थ्यमन्त्रीले हौसिंदै भने।
– बिरामी र कुरुवाहरु उपचार खर्च बच्ने भो भनेर रमाए ।
– करारका स्वास्थ्यकर्मीहरु स्थायीको कल्पनामा हराए ।
– स्थायीहरु बढुवाको आशाले प्रफुल्लित देखिए ।
– पररररर तालि पड्कियो ।
– राजसी शैलीको स्वागत अभिवादन पाएर मन्त्री खुशी हुँदै फर्किए ।
अस्पताल परिसरमा रहेका सबैजना एकछिन अघि मन्त्रीले पस्केका खयाली पुलाउको स्वादमा रम्दै थिए । कुनै बिरामीको कुरुवाले सुन्दै गरेको एफएममा समाचार बज्यो, ‘बजेट अभावको कारण सरकारले करारमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अवकास दिने निर्णय गरेको छ !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।