बेथिति: तिलक तारामी ‘रेशाली’ ( लघुकथा)

बेथिति: तिलक तारामी ‘रेशाली’ ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।

‘कसैको बिहे छ कि क्या

हो ?’ भर्खर गाउँबाट शहर आइपुगेका लोकराजले जान्न चाहे ।
‘हैन् रे !’ रत्नवीरले छोटो उत्तर दिए ।
पन्चेबाजा घन्किरहेको थियो। कोही फुलमाला, उन्दै थिए त कोही रातो टिका र खादाको बन्दोबस्त गर्दै थिए ।
‘अनि के को रमझम हो त ?’ लोकराजले अर्को प्रश्न गरे ।
‘भव्य सम्मान छ रे !’ रत्नवीर बोले ।
‘कसको ? ठूलो समाजसेवी त होलान् नि ! खै कहाँ हुनुहुन्छ ?’ लोकराजले
उत्साहित हुँदै नजर डुलाए ।
‘ए ! उहाँ त आइपुग्नुभएको छैन नि ! दश बजे आउने भनेको हो क्या रे ! एघार बजिसक्यो ।’ रत्नवीर बोले ।
‘त्यसो भए उहाँ त पक्कै नेता हुनुपर्छ । कहाँबाट आउने हुन् र ? “ लोकराजको खुल्दुली झनै बढ्यो ।
‘आज संविधान दिवस भन्ने थाहा छैन र,  तपाईंलाई ?’ रत्नवीरले उल्टै प्रश्न गरे ।
‘त्यो त थाहा छ नि !’ लोकराज बोले ।
‘रत्नाकर नाम रे ! कर्तव्य ज्यान मुद्दामा जेल परेका रहेछन् । बाँकी कैद सजाँय मिनाहा भएछ नि !’ रत्नवीरले रहस्य खोले ।
सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।