मतलवी : उमानाथ दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।
बाटोमा कविता सुक्क सुक्क गर्दै रोइरहेकीथिई । सामाजिक अभियन्ता दुर्गादत्तले देखेपछि सोधे, ‘के भयो नानी ! किन रूँदैछ्यौ ?’
कविता अझै भक्कानिई । ‘खै त बोलेकी?मलाई भन त के भयो ?’
परबाट कसैले अभियन्तालाई नमस्कार भन्यो । उनले पुलुक्क हेरेर नमस्कार फर्काए तर उनको ध्यान कवितामै थियो ।
हिक्कहिक्क गर्दै कविताले भनी ‘मलाई आमाबाबा दुवैले धेरै गाली गर्नु भयो । घरबाट जा भनेर घोक्र्याउनु भयो ।’ ऊ अझ सारो रून थाली ।
अभियन्ताले तुरून्त फोन लगाए र भने ‘हन, ए रवि ! कविता त बाटोमा रोएर बसेकी छ त !’
रविबोलेन । फोनमा खस्याकखुसुक आवाज आयो । हुन सक्छ, ऊ श्रीमतीलाई फोन आएको बारे भन्दै थियो ।
जवाफ नआए पछि उनी कड्किए, ‘पहिले त मलाई खाँचो छ, म पाल्छु भनेर सबैलाई साक्षी राखेर उठाएर ल्यायौ । अहिले आफ्नै सन्तान भएपछि यसरी अलपत्रपार्न पाइन्छ ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।