इर्श्या : गङ्गा आचार्य सापकोटा ( लघुकथा)
कपन अनलाइन
काठमाडौँ, भाद्र २।
काठमाडौँ, भाद्र २।
हरियो चौरमा एउटा खरायो यता र उता बुर्कुसी मार्दै खेलिरहेको थियो। खरायो रमाइरहेको देखेर रुखमा बसिरहेको कागलाई ईर्ष्या लाग्यो। भुर्र उडेर नजिकै गयो र भन्यो । ‘तिमी जतिसुकै छिटो दौडेपनि कछुवाले जितेको कहानी दुनियाँलाई थाहा नै छ ।’
खरायोलाई पनि आफ्नो अपमान सहि सक्नु भएन । तुरुन्तै जवाफ फर्कायो । ‘हामीलाई पनि थाहा छ भो । तिमी जति बाठो छु भने पनि खाने त्यही …. रहेछ ।’
दुबै रिसले चुर भए । एकले अर्कालाई दोष लगाउँदै गए । झगडाले उग्र रूप लियो ।
चौरमा चरिरहेको गाइले यो सब सुनिरहेको थियो । नजिकै गएर दुबैलाई झगडा नगर्न सम्झाउँदै भन्यो । ‘तिमीहरू त मान्छे जस्ता पो रहेछौ !’ खरायो र काग दुबै छक्क पर्दै गाइतिर हेरेर एकैचोटि प्रश्न गरे । ‘हामी कसरी मान्छे जस्ता भयौँ र ?’
गाइले जवाफ दियो । ‘अर्काको अवगुण नियाल्दै दोषारोपण गर्न तम्सिन्छौ त !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।