नयाँ संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्छ ः प्रधानमन्त्री
काठमाडौँ, २९ असार । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने बताउनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २०२औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा आज यहाँ आयोजित प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहमा उहाँले साहित्यिक कृतिको माध्यमबाट नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदान प्रेरणादायी भएको बताउनुभयो ।
“आफूभन्दा अघिका कवि र समकालीन कविहरुमा उहाँ विशिष्ट हुनुहुन्थ्यो । आध्यात्मिक विषयका साथै सामाजिक एकता र सद्भावका विषयलाई साहित्यिक रचनामा प्राथमिकता दिने उहाँ सामाजिक कवि हुनुहुन्थ्यो” – प्रधानमन्त्रीले भन्नुभयो ।
भानुभक्तले नेपाली समाजको एकताका लागि गर्नुभएको योगदानको कदरस्वरुप भानु प्रतिष्ठानले माग गर्दै आएको प्रतिष्ठानको भवन निर्माणका लागि एक रोपनी जग्गा उपलब्ध गराउन आफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले प्रतिष्ठानका तर्फबाट नेपाली भाषा तथा संस्कृतिमा योगदान पु¥याएका साहित्यकारद्वय चूडामणि रेग्मी र तेजेश्वरबाबु ग्वंँगलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
रेग्मी र ग्वँगलाई सम्मानार्थ प्रतिष्ठानले रथारोहण गरी प्रभातफेरीसहित नगर परिक्रमा गराएको थियो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली समाजको एकताका लागि महत्वपूर्ण योगदान पु¥याउनु भएका भानुभक्तको योगदानलाई चिरस्थायी बनाउन देश तथा विदेशका विभिन्न स्थानमा भानुभक्तको सालिक निर्माण गर्ने कार्य अघि बढेको बताउनुभयो ।
भानु प्रतिष्ठानले २०३३ सालदेखि भानु जयन्तीका दिन निरन्तर प्रभातफेरीलगायतका कार्यक्रम गर्दै आएको उहाँले जानकारी गराउनुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले भानुभक्तले तत्कालीन अवस्थामा साहित्य रचनाका माध्यमबाट गर्नुभएको लोकहितको कामना वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
बन्दै गरेको नेपालको नयाँ संविधान लोकहितका लागि अत्यन्त उपयोगी हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भाषिक तथा सांस्कृतिक एकतामा भानुभक्तको योगदान र भौगोलिक एवम् राजनीतिक एकीकरणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
भानु जयन्ती र पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रचलन नेपालको जारी संक्रमणका कारण अबरुद्ध भएकोमा यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा उहाँको जोड थियो ।
साहित्यकार तेजेश्वरबाबु ग्वँगले नेपाली भाषा साहित्यको समग्र विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले भानुभक्तको योगदान चिरस्थायी बनाउन र नेपाली भाषा सहित्यको विकास गर्न प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार नवराज लम्साल, बुनु लामिछाने, दिवस ठकुरीलगायतले भानुभक्तका कविता वाचन गर्नुभएको थियो भने भानु जयन्तीका अवसरमा प्रभातफेरीमा सहभागी विद्यालयलाई सम्मान गरिएको थियो । रासस