सम्झने प्रयास: विक्रम श्रेष्ठ ‘सागर’ (लघुकथा)
कपन अनलाइन
काठमाडौ,साउन १३ ।
रात छिपी सकेको थियो । रक्सीले मात्तिएर गन्तव्य तर्फ लागिरहेको थियो । अन्य कुरामा होस रहे नरहे पनि गन्तव्य सम्म पुग्न सफल भएकै मान्नु पर्दथ्यो ।
मुलद्धार बन्द भै सकेको थियो । गन्तव्यको अन्तिम छोर पुग्न अन्यौलको अवस्था सृजना भए संगै उपाय सुझाउन कठिन हुदै गईरहेको थियो । एक्कासी सुझवुझ बिना सुमसुमाए झै बिस्तारै दुवै हात संगै पैतला तन्काउदै छोरलाई कसेर समाउन सफल भए संगै खुट्टाको बलले भित्तामा जोड दिँदै गर्दा पर्खाल आफै तिर आई खस्छ ।
अचानक सुनिएको आवाजले घर धनी जुर्मुराउदै झ्यालबाट ”को …हँ !” भन्दै गर्दा भत्किएको पर्खाल र ऐया भन्दै गरेको परिचित व्यक्तिलाई घाउ चोट लाग्न भ्याई सकेको थियो ।
ढोका खोल्दै साधारण स्वभावमा “ढिलो भएछ नि आज पनि” भन्दै पुनः ढोका बन्द गरी आफ्नो कोठा तर्फ लाग्छ ।
मात्तिएर हल्लिरहेको तन स्थिर भई स्तम्भ सरी निःशब्द ठडिरहे संगै मानस पटल लज्जाको बोधले थिचिएको भान हुदै थियो ।
केहि दिनदेखि औषधोपचार लगाएत दैनिक कार्यमा लागिरहेको थियो । केहि राहतको अनुभुती गर्दै गर्दा अचानक घर धनीले केहि लेखिएको कागज हातमा थम्याउदै ‘बहाल सँगै दिनु है’ भन्दै आफ्नो कोठा तिर लाग्छ ।
निःशब्द आफ्नो कोठामा आई कागज नियाली टाउकोमा हात फेर्दै ”ओ हो ! पर्खाल मर्मतको बिल पो रहेछ, आम्मै ! कसरी तिर्ने होला, हत्तेरी ! ” भन्दै बिछौनामा लम्पसार पर्छ र लामो स्वास फेर्दै उक्त दिनको घटनाक्रम सम्झने प्रयास गर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।