झारफुक : मुक्ति गौतम (लघुकथा)

झारफुक : मुक्ति गौतम (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,साउन ७।

स्कुल छुट्टीको बेला छोरीलाई एक्लै घर रूङ्न  राखेर हामी सबै काममा जान्थ्यौं ।

‘बुबा ! दिउँसो चकमन्न भएको बेला अचानक मान्छे रोए झैं हुँ.. हुँ.. को आवाज आउँछ । नाईं म त एक्लै घर बस्तिनँ ।’
छोरी त्यति डरपोक पनि थिइन । दिनहुँ ‘मान्छे रुन्छ बुबा’ भन्दै थिई र पनि हामीले यादै गरिएन । तर छोरी एकाएक छोरी बिरामी परी । केही लाग–लगन भूत–प्रेतको आशंकामा धामीलाई झारफुक गर्न लगाइयो । धामीले जोखानामा हाम्रो खानदानमा कोई खोलामा डुबेर, झुण्डिएर, रुखबाट लडेर मरेका आत्मा रोएको भने  ।
आखिर दिउँसै मान्छे रोएको आवाज कसरी आउँछ ?  बुझ्न मन लाग्यो । म घरैमा बसें । दिउँसो अन्दाजी एक बजे साँच्चै नै मान्छेले रोए जस्तो हुँ.. हुँ.. को आवाज आयो । म पनि अवाक् भएं । जिरिंग पनि भएँ । म दुई चार दिन अझै घरैमा बसें । यो आवाज कसरी आउँदैछ ? आवाज आउन थालेपछि एकदिन म बाहिर आंगनमा गएर आवाज सुन्दै थिएँ । झन जोडले मेरो नजिकै मान्छे रोएको आवाज आयो ।
धेरै बेरको अनुसन्धान पछि मान्छे रोएको रहस्य यसरी पत्ता लगाएँ । आँगनमा लुगा सुकाउने बाँसको टुप्पोमा एउटा प्वाल रहेछ । हावा आएको बेला त्यही प्वालबाट मान्छे रोए जस्तो आवाज आउँदो रहेछ । मैले बाँसको प्वाल काटेर फाली दिएं । यसपछि मान्छे कहिल्यै रोएन । छोरी पनि निको भई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।