मानवता : श्यामप्रसाद श्रेष्ठ (लघुकथा)
कपन अनलाइन
काठमाडौं असार ९।
‘बाबु ! कसैले मलाई सडकको पारी पुर्याईदेऊ न !’ सहरको कोलाहलमा ती बुढी आमाको पुकार त्यतिकै हरायो। उनको कुरा सुन्ने त्यो व्यस्त सहरमा कसैलाई फुर्सद थिएन । सबै भाग दौडमा नै ब्यस्त थिए । त्यहि बाटो छेउको भिँडमा उनी धेरै बेरदेखि बाटो काट्न पालो पर्खिरहेकी थिइन् ।
सबैले बाटो काटेर गए तर कसैले उनीलाई पारी लगि दिएनन् । आखिर अरुहरुले बाटो काट्दा उनले पनि आँट गरिन् । अरुहरु फटाफट बाटो काटे तर उनी ढिलो भइन् । त्यही बेला एउटा कार बुढी आमाको अगाडि नै आएर झ्याप्प रोकियो । बुढी आमै आत्तिएर लडिन् ।
कारबाट एउटा भलादमी जस्तो देखिने मान्छे ओर्लिएर बुढी आमालाई हेर्दै भन्यो, ए बुढी मान्छे ! होस हरायो कि के हो ? यस्तोलाई मान्छे भन्ने हो कि, के भन्ने हो, खोई ?’
‘हो बाबु ! म त बुढी भँए । मैले त होस मात्र हराँए, तर तिमीले त मानवता नै हराइसकेका रहेछौँ । यस्तो मान्छेलाई खोई कसरी मान्छे भनौ ?’ बुढी आमा उठ्दै जवाफ दिइन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।