उठौं अब, जुटौं अब : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )

उठौं अब, जुटौं अब : राम आचार्य ‘पुष्पप्रेमी’  (कविता )

कपन अनलाइन

काठमाडौं असार ९।

ओ…. गोर्खाली शानहरु हो
राष्ट्रका सपुतहरु
नेपाल आमाका वीर सन्तानहरु
कथित परिवर्तनको अन्धकारपूर्ण यात्रामा
खुल्ला गल्ली गल्छिडा र चोकहरुमा
दिनदहाडै आमा बलत्कृत भएर
चिच्याई रहँदा पनि
तिमी भ्रमको सपनाबाट किन
ब्युँझिन सक्दैनौ ?
शत्ता पिपासुको सिकार बनेर
अर्धचेतमा बर्बराई रहँदा
निरीह बनेर
कसरी टुलुटुलु हेरिरहन सक्छौ ?
एक पछि अर्काे गर्दै
पालो गरि गरि
मातृभूभिको चिर हरण गरेर
हुर्मत लिई रहँदा
तिमी दासत्वको निद्राबाट
किन ब्युँझिन खोज्दैनौ ?
कलियुगका युधिष्टिरहरुले
उनको अस्मिता चिथोरेर
बगेको रक्तभेलमा मह्लम पट्टि
लिएर उठ अब ,
यदि तिमी गोर्खालीको शान हौ भने
उनै बलभद्र ,अमरसिँह पृथ्वीका
छोरा नाति हौ भने
ढिला गर्नु हुन्न
उठ अब जुट अब
भालेको डाक काटिसक्यो
समय गई सक्यो ।

लामो समयसम्म
आशा गर्दा गर्दै
धैर्यता टुटिसक्यो
विस्वासको बाँध भत्किसक्यो,
उनका चित्कारका ध्वनी प्रतिध्वनीहरु
मेची कालीसम्म मडारिन थाले
हिमाल पहाड र तराई निर्धाे बनेर
थर्थर कापिरहेछ
थुप्रै गाउँ बस्तिहरु
अनाथ र अवला बनेर
आदर्शविहिन सिद्धान्तका डोरीले
पाता कसेर
पार्टीको दासताको कैदी बनेका छन ।

ओ…बहादुरीका इतिहासका
उत्तराधिकारीहरु,
उठ अब,
जाग अब,
लाग अब
तिमीहरुले नै हो
भ्रष्टचारका अखडा तोड्नु पर्छ
अन्याय र अत्यचारका
पर्खाल फोड्नु पर्छ
भ्रमपूर्ण विचारका नेल र
जंजिर चुडाउनु पर्छ
राष्ट्रियतलाई बिभाजनको चंगुलबाट
मुक्ति दिनुछ ,
ती भ्रमका आश्वासनको फाँको मारेर
निरीह बनाईएका
सृजनशील गाउँ बस्तिहरुलाई
देशभक्तिको मृत्तसंजीवनी ख्वाउनु छ,
ओ…. स्वभिमानी सपुतहरु
उठ अब
एकजुट भएर जुट
आमालाई बचाउन उठ
देश जोगाउनलाई उठ ।

सदियौंदेखि
विरतामा डुक्रिएर राष्ट्रियतामा
सिँगौरी खेल्दै निर्माण गरेको
स्वधिनताको इतिहासलाई
टुहुरो बनाउनु हुन्न
देशभक्ति रुन दिनु हुन्न
वहादुरीका अदम्य सहासले ठडिएका
अखण्ड नेपालका प्रतीक
ती गढी र किल्ला
ढल्न दिनु हुन्न,
तिमीबाट संरक्षित हुनुपर्छ
ती राष्ट्रका अमुल्य निधिहरु
अनि जस्ताको तस्तै सुपर्तगी गर्नु पर्छ
तिम्रा भावि सन्तति र पुस्ताहरुलाई ।

भिमसेन र कालुका रगतले सिँचित
यो माटो
तिनका बाबुको विर्ता होइन
श्रीमतीको दाइजो होइन
मावलीको उपहार पनि होइन
मुठ्ठीभर ब्यक्तिले
बन्द कोठामा बसेर
आपसी भागबण्ड गर्दै भेजो लाउने ।
यदि तिम्रा मुटु र धमनीमा
तिनै वहादुरीका वंशाणुगत रगत
बगेको छ भने
पुर्खाले छोडेर गएको विरासत जोगाउन
ती राष्ट्रियतामा लागेका
किर्ना र उपियाँ निमिठ्यान्न पार्न
बिषै बिषको राग भएर बहनु पर्छ,
परिवर्तनको भ्रमको निन्द्राबाट
ब्युँझनु पर्छ
ढिलो भइसक्यो
भाले बासिसक्यो
उठ अब
जाग अब
लाग अब
त्यहि राष्ट्र बचाउन
जुन तिम्रा पुर्खाले तिमीलाई
सुम्पेर गएका थिए ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।