कुर्सी : लीलाराज दाहाल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,जेठ २७।
साहित्यकार हुतराज शर्माको नामअगाडि कवि, कथाकार, नाटककार, उपन्यासकार, निबन्धकार र कोशकार जोडिन थालेको त धेरै भैसकेको थियो । अवभने ती उपाधिका अगाडि बरिष्ठ शब्द समेत थपिन थालेको थियो ।
उनले सके कूलपतिनसके पनि उपकूलपतिसम्म त हुन्छु भन्ने नै सोचेका थिएतापनि उमेरले पैंसठी बर्षको लामो तगारो नाघिसक्दा समेत त्यो पद प्राप्त गर्नबाट उनी पूर्णरुपमा बन्चित भैरहेका थिए । यो उमेरसम्म उनको सपना पुरा हुन नसकेकाले उनी अचेल बेचैनीको लौरो टेकेर यताउता घुम्न थालेका थिए । उनको हृदयमा पिडाका काँडाले बेस्सरि घोेचिरहन्थे । त्यसैले अब उनको लेखाईको प्रवाह पनि दिनानुदिन घटिरहेको थियो ।
उनको मनको चुरेबाट निसृत दुखको खहरे घट्नुका सट्टा झन्झन् बढिरहेको थियो । उनको यो अवस्थाउनका परिवारजन, छर छिमेकबाट छिपेको थिएन । अलिअलि राजनीति, ठेक्कापट्टा गर्ने उनका भतिज गोकर्ण आएर नजिकै बसीउनको अनुहारमा सल्बलाई रहेको बेदनाको लहर अवलोकन गर्दै भने, ‘हैन काका, के भयो अचेल तपाईंलाई ?तपाईंको अनुहारभरि उदासीको छायाँ मात्रै देख्छु ।’
उनले पिर्लिक्क आँखा पल्टाएर भतिजको अनुहारमा हेरे अनिमलिन स्वरमाभने, ‘यो सरकारले पनिमलाई प्राज्ञ नबनाउने भयो । कूलपति, उपकूलपति त दिएनन् दिएनन् ।जाबो प्राज्ञसम्मपनिनदिने भए । यहीहो मेरो दुखको कारण ।’
काकाको कुरा सुनेर मुसुक्कहाँसे भतिजगोकर्ण शर्मा । उनले काकालाई नियाल्दै भने, ‘ए, उसो भए लेखेर मात्रै, विद्वानभएर मात्रै प्राज्ञ पाइन्छ भन्ने ठान्नु भएको तपाईंले ?
त्यस्तो लेख्ने, विद्वान, पढेलेखेका मान्छे त कति छन् कति नेपालमा? तपाई त इमान्दारिता र नैतिकताको पो कुरा गर्नु हुन्छ त ?तपाईं कति पुरातनवादी?अहिले त जुनसुकै क्षेत्रमाजानलाई पनि नैतिकता, विद्वता र इमान्दारिताले मात्रै पुग्दैन । कुनै न कुनै पार्टीको झण्डा बोक्नै पर्छ । पार्टीलाई चन्दादिनैपर्छ । बुझ्नु भो त काका? तपैको यस्तै चालले पाउनु भो प्राज्ञ ? बरु बेलैमा बुद्दि पु¥याउनुस् है । यो सरकार ढल्दैछ छिट्टै ।’भतिजले काका हुतराजको अनुहार नियाले र पुनभन्नथाले, ‘अर्को पार्टीको नेतृत्वमा सरकार बन्ला जस्तो छ । साँच्चै, तपाईंको कुरा चलाऊँ त काका? सके कूलपति, नभए नि उपकूलपति त पक्का ।’
भतिजका कुराले उनको अनुहार उज्यालो भयो ।उनले आशामुखी नजरले भतिजलाई हेर्दै भने, ‘कसरी भतिज?’ भतिजले उपाय सुझाए, ‘त्यसको लागि तपाईंले त्यो पार्टीको सदस्यतालिनु पर्छ अनि पार्टीलाई सके जतिचन्दादिनु पर्छ । चलाऊँत कुरा ?’ भतिजका कुराले उनको हृदयको तापक्रम बढ्न थाल्यो । उनको अनुहारबाट चिटचिट पसिना निस्कन थाल्यो । एकछिन पछि उनीबिस्तारै समालिए ।
नखाऊँभने दिनभरिको शिकार, खाऊँभने काँन्छा बाबुको अनुहार भनेको यहीहो । भतिजको सल्लाह अनुसार कूलपतिको पद हत्याऊँभने आफ्नै स्वाभिमान र आत्मसम्मानको घाँटी निमोठिने, नखाऊँभने जिन्दगी भरिको सपना अधुरै रहने ।’ उनको मनमा यस्तै यस्तै तर्कनाहरु आइरहे । गइरहे ।उनले केहीपनि निर्णय गर्न सकेनन् । मनभरि विभिन्न कुरा खेलाएर छटपटीको ओछ्यानमाअनिँदो भै पुरै रात
बिताए । प्राज्ञको कुर्सीले उनलाई कयौं रात निदाउन दिएन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।