महांकाल भैरब मन्दिर जीर्णोद्धार हुँदै
कपन अनलाइन
काठमाडौँ, जेठ ८ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकालमा रहेको महांकाल भैरब मन्दिर जीर्णोद्धारको कार्य शुरु गरिएको छ। श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त मन्दिर जीर्णोद्धार गर्न लागिएको हो । करीब ११ लाख ७० हजारको लागतमा जीर्णोद्धार गर्न लागिएको उक्त मन्दिर पुननिर्माणले महांकालको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयको बिश्वास रहेको छ। जीर्णोद्धार कार्य शुरु गर्नु पुर्व बिशेष क्षमा पुजा समेत गरिएको थियो ।
आफ्नो क्षेत्र भित्र रहेको पौराणिक, धार्मिक, सांस्कृतिक महत्त्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिले उक्त मन्दिर जीर्णोद्धार कार्यमा सहयोग गरेको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन ।
सांस्कृतिक र धार्मिक महत्व बोकेको उक्त मन्दिरको शुभ साइत हेराएर क्षमा पुजा सहित जीर्णोद्धारको कार्य शुरु गरिएको हो। क्षमा पुजा कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक शान्ती माया तामाङ, सदस्यहरु जानुका भण्डारी श्रेष्ठ,पशुपतिनाथ खतिवडा (श्याम), रग्वा शेर्पा, शैलेश श्रेष्ठ प्राबिधिक,इन्जीनियर,ठेकदार,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
जिर्णोद्वार कार्य गर्नुपूर्व पटक पटक स्थानीय संग छलफल समेत गरेको क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन । जीर्णोद्धार कार्यको समयमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, सदस्यहरु सहित प्राबिधिक र इन्जीनियरले अनुगमन गरिरहेका छन ।