प्रण : भोलानाथ सुबेदी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३ ।
आज एकाबिहानै देखि मलाई आफैंसँग अचानक रिस उठ्यो । बिनाकारण रिस उठेपछि मलाई के गरौँ कसो गरौँ हुन्छ । रिस उठेको कुरा श्रीमतीलाई भन्छु भनेर सिरक भित्रबाट टाउको निकाली हेरेँ । उसलाई देखिन । भित्तेघडीमा आँखा पुग्यो । यसो नियालेर हेर्दा सात बजेछ ।
सिरकमै बस्दा बस्दै रिस घटाउने अनेक उपाय सोच्न थालेँ । एउटा उपाय अचानक मुखबाट फुत्किन पुग्यो । फ्रिजको पानी पिउने । जे त होला भनेर सिरक फालेर हानिएँ भान्साकोठातिर । फ्रिज चालू रहेनछ तर पानी चिसो नै रहेछ । दुई घुट्की पिएँ । रिसको पारो दस प्रतिशत घटेको अनुभव भयो । बिहानै फ्रिजको पानी पिउँदा घरकाले के सोच्लान हतार हतार कोठातिर दौडिएँ ।
अब अफिस जाने कसरी ? मनमा अनेकन जुक्ति सोच्न थालेँ ।यस्तो आवेगमा जाँदा हाकिमसँग ग्रह मिल्दैन । ठूलो स्वर कसैलाई गरियो भने युटुबेहरुले जिउँदै खरानी बनाउँछन् ।
सम्झँदा सम्झँदै सानो नातिले कान तानिदियो । ऐया ! भन्न नपाउँदै मेरो रिस सर्लक्कै घट्यो । नातिलाई हात उज्याउन खोजेँ अचानक ऊ खित्का छोडेर हाँस्दै त्यहाँबाट भाग्यो । म अन्योलमा परेँ ।
म प्रत्येक दिन उठेर योगा गर्थें । अचेल किन किन बिहान उठ्न जाँगर चलेकै थिएन । माघको ठिहीले हो कि बुढ्यौलीले । आफ्नो नित्यकर्म भुल्दा मेरो दिमागको अनेकौं समस्या भोग्नु परेको कुरा मैले पत्तो लगाएँ । बिहानै रिसको पारो चढेको कारण पत्ता लगाएँ । अबदेखि यस्तो अल्छी नगरी दैनिक नित्यकर्म गर्ने प्रण गर्दै म हाँस्दै अफिस तर्फ लागेँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।