गोकर्णेश्वर ४ उत्तरबाहिनी चोकमा सिन्दुर जात्रा गरियो
कपन अनलाइन
काठमाडौं, बैशाख ११ । गोकर्णेश्वरमा राजा मानदेवले पालादेखि हालसम्म निरन्तर चलेको ऐतिहासिक, सांस्कृतिक र धार्मिक कान्तिभैरव जात्राको सिन्दुर जात्रा गरिएको छ। आइतबार गोकर्णेश्वर ४ उत्तरबाहिनी चोकमा सिन्दुर जात्रा गरिएको हो जात्रामा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा वडा अध्यक्षहरु सहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
बैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा शुरु हुने परम्परा छ ।चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेक सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा लाग्ने गर्दछ ।श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई आकर्षकरूपमा सिङ्गारिएको तीन तले खटमा विराजमान गराइ उत्तर बाहिनीमा रहेको आफ्नो आमा कान्ति भैरवीको मुख हेर्न जाने धार्मिक मान्यता अनुसार सो जात्रा मनाउने गरिन्छ ।
भातको देउता बनाएर फलफुल मिठाइ सहित बिभिन्न परिकारको साथमा भैरबको रथमा राखेर देशे गाउँको डुठुलाक्षीबाट बाजागाजा सहित उत्तर बाहिनीमा रहेको कान्ति भैरवको मन्दिरमा बिहानै सिमित ब्यक्तिको उपस्थितिमा पुर्याईएको थियो । तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइने गरिन्छ ।औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमारी एवं बीचमा श्रीभैरवको रथ बिसाएपछि आमाको मुख हेर्ने दिनको जात्रा समाप्त हुन्छ । वैशाख शुक्ल प्रतिपदाका दिन केपूजा गरेपछि मात्रै रथ उठाइन्छ । गोकर्णेश्वर–४ बाट प्रतिपदाका दिन मध्यान्ह सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइन्छ ।
ध्वजा भएको बाँसको टुप्पाले रथको गजुरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ । यस दिन गोकर्णेश्वरका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयवासीले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुन्छ ।