भूइँ मान्छेको देशमा एक रात: अच्युतप्रसाद पौडेल ‘चिन्तन’

भूइँ मान्छेको देशमा एक रात: अच्युतप्रसाद पौडेल ‘चिन्तन’

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

माकलबारिमा उभिइरहँदा एउटा भूइँ मान्छे,
टुप्लुक्क आइपुग्छ, उनैसँग लहसिन्छु म,
‘जाउँ गाउँतिर’ उनको अनुरोधको स्वर,
तयार हुन्छु म, गाडी चढ्न, सार्वजनिक गाडी,
यात्रा नाँग्ले भारेको, एक घण्टामै रोकिन्छ हाम्रो बस,
पैदलै ओराली लाग्छौँ हामी सुर्के बारिका भीरैभीर,
एक घन्टाको पैदल, हातले बुट्यानको सहारा लिँदै,
एँसेलुले चिनेन मलाई र त चिथोर्न आयो, रातै भो हात, स्वादे जिभ्रो,
बस् नेपाली कुटी, तुलसीको मोठ, गाई भैँसीको गोठ,
आँगनैको पूर्वतिर शिव लिँग, नर्मदेश्वरको नाम तीन पुस्तादेखि नै,
घरका भित्ताहरुमा राम नामको चित्र सबैतिर, अगाडि रुद्राक्षको रुख,
शुद्ध नेपालीको एक्लो घर र बस्ती अलि तलतिर, छैन सन्धिसर्पन,
हावामा पनि कुनै मिसावट छैन, कलकल बगेको छ पानी,
कतै बनावटीपन छैन, सुन्दर र हरियाली प्रकृति,
हामी दुई भूइँ मान्छे, आफै  भान्छे आफै  खान्छे,
भाँडा धुने पनि आफै   रातभरको चीसो निद्रा ओसिला ओछ्यानहरु,
बिहानीको सूर्योदय, मोवाइलमा बन्दी सूर्य, तल फाँटका बादलहरु,
अनि परतिरका सेता हिमालहरु गजधुम्म ठडिएका,
मनै लोभ्याउने त्यो प्रकृतिमा ध्यान र योग मुद्रामा केही बेर हामी,
अहा कति मिठो छ जिन्दगी, वरिपरि जौ, जुई र गहूँ,
चूत्रा र ऐँसेलुले सजिएको पहाड, सिँगारिएको छ बस्ती,
भूइँ मान्छेको देशमा, तर, तर,
भोलिपल्टै फेरि उही नक्कली देशमा, बनावटी भेषमा
फिर्ता हुन्छु म जहाँ क्रन्दन, चित्कार र कुण्ठा सिवाय केही छैन,
उही पानी बिनाको काकाकुले सहरमा, उही प्रदूषित सहरमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।