स्मृतिका संस्करणको समीक्षात्मक टिप्पणी : कुमारप्रसाद पोखरेल (समिक्षा)

स्मृतिका संस्करणको समीक्षात्मक टिप्पणी : कुमारप्रसाद पोखरेल (समिक्षा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

नेपाली साहित्य जगतका विशिष्ठ साहित्यकार, कवि तथा गीतकार प्रा.डा. श्री रामप्रसाद दाहालज्यूका स्वर्गवासी माता शकुन्तला दाहाल र पिता परशुराम उपाध्याय दाहालको एघारौ पूण्यस्मृतिका अवसरमा परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानबाट प्रकाशित स्मृतिका संस्करणहरू नामक पुस्तक हात प¥यो । सो पुस्तकमा विभिन्न १३ जना लेखक तथा कविहरूले साहित्यका माध्यमबाट परशुराम–शकुन्तलाको जीवनिका पाटाहरूको यथार्थता माथि चरित्र चित्रण गर्नुभएको छ ।
आजभन्दा करीब ९२ बर्ष पहिले उदयपुरको लेखानीमा जन्मनु भएका परशुराम उपाध्याय दाहाल ११ बर्षको हुँदा पिताको निधन भएको र आफैले जीवनमा सङ्घर्ष गर्दै अगाडि बढ्नु परेको मार्मिकताको चित्रण गरिएको छ । सानै उमेरमा पिताको महाप्रस्थानका कारण इस्कुलीय शिक्षाबाट बञ्चित हुनु कुनै नौलोकुरा होईन । त्यसबेला शिक्षा आर्जनगर्न आजको जस्तो सर्बसुलभ पनि थिएन । तर पनि स्वअध्यनबाटै नेपाली जनजिब्रोको बोलिमा प्रस्फुरित् भएका संस्कृत र नेपाली भाषाका देवदेवीहरूको स्तुतिगानका श्लोकहरू कण्ठस्त हुनु निश्चय नै विलक्षण प्रतिभाको ध्योतक हो ।
नेपाली तथा संस्कृत साहित्यका कठिन तर जनपयोगि श्लोकहरूले दिने अर्थ निश्चय नै समय सान्दर्भिक छन् । उहाँले मुखाग्रे दैनिक वाचन गर्ने श्लोकहरू अर्थात हरपल हर समय पुस्तक बिना नै प्रस्फुरित भईरहने गणेशस्तुति, पाञ्चायनस्तुति, सरस्वतीस्तोत्रम्, देवीवन्दना, अर्गलास्तोत्रम्, सूर्याष्टकम्, निर्गुण भजन, भगवतीस्तोत्र, विजयादशमीमा आशिष् दिने मन्त्र, मङ्गलाचरण, हातहेर्ने मन्त्र, पृथ्वी छुने मन्त्र, स्नानगर्दा भन्ने मन्त्र, आशनशुध्दि मन्त्र, आचमन गर्ने, गायत्री मन्त्र, शंख, घण्ट, दीप, कलश, गणेश स्थापना र पूजा विधि, नवग्रह पूजाविधि, पाञ्चायन देवता (गणेश, विष्णु, शिव, सूर्य, काली) पूजाविधि, धुप, दीप, नैवेध्य आदि प्रार्थना सुनेर घर परिवारका सदस्यहरूका साथै उहाँका ईष्टमित्र, करकुटुम्ब, नातागोताका साथै छिमेकीहरू पनि लाभान्वित भएका छन् । यसको अतिरिक्त गीताको साङ्ख्य र कर्म योगका आंसिक श्लोकहरू पनि उहाँलाई कण्ठस्त थिए । उहाँले मुखाग्रे दैनिक वाचन गर्ने श्लोकहरूको महत्व आजपनि उत्तिकै रहको छ ।
वैदीक सनातन हिन्दु परम्पराको समाजमा हुर्के बडेका जुनसुकै उमेरका युवा युवती, गृहस्थी र बुढापाकाहरुको निम्ति यसमा उल्लेख भएका श्लोकहरूले ज्यादै आकर्षक गराउँदछ भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । जनजिब्रोको बोलीमा गुञ्जने नेपाली तथा संस्कृतका श्लोकहरू भएकाले बिषयवस्तुको छनोट समय सान्दर्भिक नै मान्नु पर्दछ ।
परशुराम उपाध्याय दाहाल मेरा पनि नजिकका नातामा जोडिनु भएकाले पहाड, मदेश आवत जावतका क्रममा उहाँको घरमा धेरै पटक बस्ने अवसर मिलेको थियो । उहाँ प्रष्टवक्ता, निडर सबै प्रति समभाव राख्ने, कुशल वाकपटुता भएका, निस्वार्थी, सहयोगि, सामाजिक एवं परोपकारी व्यक्ति भएका कारण ईच्छा मृत्यु वरण गर्नु भयो । जुन कुरा उहाँका छोरा श्री काशीराज दाहालले यसै पुस्तकको ईच्छा मरण, विज्ञान र गरूड पुराण भन्ने आलेखमा संक्षिप्त चर्चा गर्नु भएको छ ।
उपर्युक्त संस्कृत र नेपाली भाषाका देवदेवीहरूको स्तुतिगानका श्लोकहरूको अलावा उहाँले दैनिक भने जस्तो गाउने बहुचर्चित कविता सात हात लामो नली नै हो । यसको पृष्ठभूमिमा ठालू गौरीप्रसाद दाहालको घरमा लोकनाथ पोखरेल पुग्दा घरको चालचलन नमिलेको विचित्रता देखे । जुनकुराले ठालु बन्न नसुहाउने थियो । तर तमाखु भने सात हात लामो नली लगाएर तान्दथे ।यो कुरा उनलाई चित्त बुझेन छ । जुनकुरो कविता मार्फत पोखे । मैले पनि त्यो कविता सर्वप्रथम परशुराम उपाध्याय दाहालबाट सुनेको थिए । जुन कविता मलाई ज्यादै रोचक लागेको थियो। जो यस प्रकार छ ः
एकदिन काम विशेषले त गरदा लेखानी गाको थियाँ
ठालू गौरिप्रसादका घरमाहाँ यो चाल देखिलियाँ ।
भोर्लाको पनि छानो रैछ घरको सात हात लामो नली
ढीकी रैछ दलान कै बिचमहाँ देखियो मध्ये कली ।
हातमा एक छडी लिएर घुमने आगन ओरीपरी
सू सू सू मुखले सुसेली रहने धेरै बुझे झै गरी ।
नाके स्वर गरी हाक्छ गफ अति ठुला ताल ठोकि हात देब्रेले
धानको चिन्ह परालबाट बुझियो हुन्छन ती ठुला केले ।
स्वास्नी हाट नगै हुँदैन कहिल्यै, आफू नगै कोलमा
भात् खानू पनि पर्छ खालि एउटा गुन्द्रुकको झोलमा ।
जुनकुराले ठालू बन्न नसुहाउने थियो । ठालू बन्न त यस्ता लक्षण हुनु पर्दछ ।
स्वास्नी कुलघरानकी पनि हउन् राम्री पहेल पातली
अर्कै होस् तमाखुता भरिदिने सुहाउथ्यो त्यो नली ।
लैना गाई हउन् दुधालु दुई तीन गोरी र फेर गाजली
बाकड्का खसि हुन् बडा जखमले काटे नघटने मुरी ।
यस्ता रीत परिबन्दका चलनले सुहाउथ्यो त्यो नली
घरका बार्दली हुन अनेक किसिमका धेरै हउन् मेच मुडा
वातचित गर्न जुटुन ती गाउँ घरका सेतै पुलेका बुढा ।
राम्रा वाग्मती, पान्मती र नयनी घर्तीनी हुन् नाम हुने
टूल्ठूला चुठूवा लिएर सबदिन आएर गोडा धुने ।
छोरी आउन् काशी नेपाल दिएका
राम्रा राम्रा नाति काखमा लिएका ।
बत्ती कातून् झ्यालमा गै बसेर
खाजा खाउन भित्र कोठा पसेर ।
यस्ता रीत परिबन्दका चलनले सुहाउथ्यो त्यो नली
यी कविताका श्लोकहरू शैली मिलाएर मन्त्र मुग्ध हुने गरी भाका हालेर गाएर सुनाउनु हुन्थ्यो । औपचारिक शिक्षा नभए पनि उहाँमा यस्ता कविता वाचन गर्न सक्ने बिलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो ।
प्रस्तुत पुस्तक सरल नेपाली भाषामा लेखिएको छ । यस संस्करणमा समेटिएका लेख रचनाहरू पठनीय छन । आफ्ना स्वर्गवासी माता पिताको बार्षिकीका अवसरमा यस प्रकारको बहुआयामिक विविध बिषय र क्षेत्रको चर्चा परिचर्चा गर्दै उजागर गर्नु तथा विभिन्न क्षेत्रका विद्वान विदूषीहरूलाई सम्मान, कदर र पुरस्कारको व्यवस्था गरी जेहेन्दार तथा गरीव विद्यार्थीहरूलाई छात्रवृति समेतको व्यवस्था गर्नु निश्चय नै सह्रानिय कार्य हो । बिषयवस्तुको छनोटले बिभिन्न क्षेत्रका विशिष्ठ विद्वानहरूलाई एक ठाउमा उभ्याउनु सक्नु स्मृति सेवा प्रतिष्ठानको प्रशंसनीय कार्य हो । शुध्दाशुध्दिमा काम गर्ने विद्वानवर्गले अझबढी ध्यान दिनु पर्ने देखिन्छ । विषयवस्तुको सम्बोधन, उपयोगिता र सान्दर्भिकतालाई हेर्दा यो पुस्तकले हाम्रो सामाजिक धरातलको यथार्थता र पूर्वीय दर्शनको मूल्य र मान्यतालाई अङ्गीकार गरेका वाक्य मातृ देवो भव । पितृ देवो भव । भन्ने महामन्त्रबाट ओतप्रोइत भएर होला पुस्तक निःशुल्क उपलब्ध गराउनुलाई प्रकाशकको महानता मान्नु पर्दछ ।
अन्तमा, स्मृति सेवा प्रतिष्ठान सञ्चालन गर्ने सञ्चालकहरूलाई विशेष धन्यवाद दिदै स्वर्गीय शकुन्तला दाहाल र परशुराम उपाध्याय दाहाल प्रति हार्दिक श्रध्दासुमन अर्पण गर्दछु ।

तपाइँको प्रतिक्रिया ।