चिन्तित चिताहरु : राधिका पन्त
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २।
लाइनका लाइन बनाइएका छन्
नदीका वरिपरी चिताहरु
प्रत्येक चितामाथि थुपारिएका छन्
मूर्दारुपि मानव शरिरहरु
पत्पत्ति धूवाँ मडारिएको छ
आकास माथि माथि नदेखिने गरी
चिता दन्दनी जल्ने अभावमा
धूवाँ पत्पत्ति पुत्याएर
ढाकिँदै छ मलामीका अनुहारहरु
कालो बादलले
काँचो दाउराको गिँड नै
छोपिने गरी छोपिएका छन्
चेपिएका छन् लाशहरु
प्रत्येक चितामा
भिजाएको परालले
छोपिएका शवहरु
जिउँदोमा मात्रै हैन
मरे पछि पनि चिन्तित छन्
चिताभित्रै निशास्सिदै
लासहरु !
अभाव देख्छन् त्यहाँ
वातावरण स्वच्छताको
सुकेका दाउरा अनि
उदार हृदय भएका
अनुभवले खारिएका
व्यवस्थपकहरुको
निरास छन्
चिता माथिका शवहरू
अन्तेष्टीको अत्यचार देखेर
चिन्ताले
जुरुक्क उठ्न जुर्मुराउँ छन्
चिताबाटै कतै
भित्ताको सूचना पाटिमा लेखिएको
बडेबडे अक्षरहरु पढ्नलाई
प्रत्येक हरफहरु
नियाल्दा लाग्दै छ
लाशहरुलाई
भ्रष्टचार गर्न नजान्ने मान्छेले
विरामी पर्न हँुदैन
परिहाले भने
मर्न हुँदै हुँदैन
मरिहाले आर्यघाट जान हँुदैन ।
किनकी त्यहाँका
काँचो मूढाले चेपिनु पर्छ
घ्यू र तेलको सहायताले
शरिरलाई डढाउनु पर्छ
शव दर्तादेखि
स्वछन्दता सम्मका
वातावरण संरक्षणदेखि
पर्यावरणसम्मका बिल
दाउरा र बाँस
बस्त्र र डोरी हेरीहेरी
अन्त्यष्टीसम्मका
बिल भुक्तानी गर्नु
अनि काँचो दाउरालाई
घ्यू तेल चिनी थपेर
बिल बढाउने चिन्ताले
चिन्तित छन् चिताहरु !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक