असीलाई आग्रह : त्रिलोचन आचार्य (कविता )

असीलाई आग्रह : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

जाँदो भो जब चैत्र मास दिनले हेरेर अस्ताचल
नौलो वर्ष अवश्य आउँछ यहाँ चल्दैन केही छल
बाँड्दै छन् जल फुर्किएर सुइँको पाएर धारा कुवा
गर्छौँ स्वागत लौ भनी जुटिसके बैशाखका पालुवा ।

जे जे गर्नु थियो गरी मनपरी लाग्यो उनासी पर
बाढीले पहिरो र भेल भलले छाती चि¥यो चर्चर
निर्वाहा नहुने बुझी कुदिसके बन्दै विदेशी कति
हेर्ने छैन असी अवश्य यसरी नेपालको दुर्गति ।

बज्छन् तीन करोडका हृदयका ताली तँलाई अब
वाधा अड्चन छन् हटाउँन भनी हेर्छन् नियाली सब
बाँड्दैछन् शुभकामना सब जना हेरेर बाटोतिर
यो नेपाल अगाडि लग्नु छ असी पारेर ठाडो शिर ।

बोलेझैँ व्यवहार गर्न दुनियाँ सक्ने बनाएस् असी
बाचामा अडिने दरो मनुजको फोटो सजाएस् असी
माग्ने हैन गरेर खानु नि भनी तैँले पढाएस् असी
शङ्काका अनि त्रासका विरहका जालो डढाएस् असी ।

भोकाले नमिलेर गाँस अनिँदो बन्ने नआऊन् दिन
बासै छैन कहाँ बसौँ भनन हे भन्ने नआऊन् दिन
लुट्दै बस्छ अझै निरीह जनको अर्बौँ हुने जान्दछु
यस्तो दुख दिँदैन कि अब असी आशा म यै गर्दछु ।

हेर्दै त्यो अति हानथाप पदको नाँच्ने नआओस् असी
मागेरै अनुदान दान बिचरा बाँच्ने नआओस् असी
मान्छेको मन भै सुवासित स्वयं आऊन् बिहानी खुली
मेरो मित्र असी सजाउँन सकोस् सम्पन्नताको चुली ।

जाऊन् स्वच्छ विचारका कणहरू मान्छेहरूका घर
तैँले पर्छ हटाउँनै अब सबै छाती भरीको डर
मैले झिल्झिल देख्छु यो गगनमा केही उज्यालोपन
आओस् घाम छरेर सुख्ख जगमा बैशाख पैलो दिन

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।