खसखस : कुमुदप्रसाद शर्मा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २५ ।
‘आम्मा…मा…मा……. ! कहाँबाट ल्याउनुभो हँ, यतिका रूपियाँ ? कि चिठ्ठा पर्यो ?’ रोशनीले आश्चर्य मान्दै बुढालाई सोधिन् ।
‘लिन त ऋण भनेर नै लिएको हो, तर सावाँ व्याज केहीपनि तिर्न पर्दैन । एक किसिमको चिठ्ठा नै सम्झ न !’ उसले प्रष्ट्यायो ।
‘हँ…….! कहिले पनि तिर्न नपर्ने ?’ उनले थप जिज्ञासा राखिन् ।
‘हो त ।’ उसले आश्वस्त पार्यो । र, चोर औंलाले आफ्नो टाउकोतिर सङ्केत गर्दै भन्यो, ‘दिमाग…, मैयाँ…, दिमाग ! अब तिम्रो नामको यो घर पनि धितो राखेर टन्न रूपियाँ निकाल्नु पर्छ ।’
उनले केही नबुझेझैँ गरि ट्वाल्ल उसको अनुहारमा हेरिन् ।
ऊ भन्दै गयो, ‘अब बैंक, फाइनान्स अनि सहकारीबाट लिएको ऋण तिर्न नपर्ने रे । देखिनौ, आजकल यही माग राखेर आन्दोलन चलेको ? मानवसागर नै उर्लिएकाछन्, यसको समर्थनमा । माग पूरा नभएसम्म नरोकिने रे !
घर जग्गाको पुर्जा लिएर ऋण निकाल्न निस्कनै लाग्दा उनले भनिन्, ‘बुढा ! एउटा कुरा मलाई साह्रै खसखस लाग्यो ।’
‘के हो त्यस्तो? भन न !’ उसले जान्न चाह्यो । उनले गम्भीर भएर भनिन्, ‘यसरी सबैले सहकारीबाट ऋण लिँदै नतिर्दै गर्न थालेपछि हामीले छोराछोरीको नाममा त्यहाँ राखेको त्यत्तिका मुद्दती रकमको सावाँ व्याज चाहिँ तिनले कसरी फिर्ता गर्छन् होला हगि…… !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक