दाइको सर्ट : कविता दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
एकदिन कपडा पट्याउँदै गर्दा बसुधाले आफ्नो पतिको सेतो सर्टमा सुनौलो कपाल भेटिन् । उनका पतिले बेलाबेलामा बसुधाको शान्त स्वभाव र उनको कालो, लामो कपालको खुव प्रशंसा गर्थे । आज एक्कासि एउटा कपालले उनको शान्त मनको समुन्द्रमा कसैले ढुङ्गा हाने जस्तो अनेकौं तरङ्गहरू आउन थाल्यो ।
उनले मनमाअनेक कुरा खेलाउनु भन्दा बरु पतिलाई नै सोध्ने विचार गरीन् । त्यसैले उनी एउटा हातमा सर्ट र अर्को हातमा चियाको किस्ती बोकेर बैठकमा पुगिन् । त्यसबेला उनका पति फोनमा व्यस्त थिए । आँखा फोनमा भएको बेला हात ट्रेमा लम्काउँदा एक्कासि चियाको कप घोप्टियो । बसूधाको हातको सर्ट पनि चियाले भिजायो ।
आफ्नो नयाँ सर्टमा चियाको दाग देखेर उनका पतिले रिसाउँदै भने,
‘हैन, तिम्रो आँखा छैन ?नयाँ सर्ट, को चिया सँग ल्याउँछ ?’
उनले पनि झर्कंदै भनिन्, ‘ऑखा हुनेले चाहिं किन चिया पोखेको त ! ध्यान जति अन्तै डुलाउने, जो चोर उसैको ठूलो स्वर …’
कहिल्यै झगडा नगर्ने आफ्नी भद्र स्वभावकी पत्नीको आज यस्तो रौद्र रूप देखेर ऊ ट्वाल्ल पर्यो ।
यत्तिक्कैमा ढोका ढक् ढक् गर्दै बसुधाकी देउरानीले भनिन्,
‘यी दाइको सर्ट, हाम्रो झोलामा परेछ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक