गोकर्णेश्वर- २ मा व्यवसायिक १० दिने अचार र मस्यौरा बनाउने तालिम शुरु
कपन अनलाइन
काठमाडौं चैत्र ३ । गोकर्णेश्वर नगरपालिका वडा नं २मा व्यवसायिक १० दिने अचार र मस्यौरा बनाउने तालिम शुरु भएको छ । संयुक्त महिला समाज गोकर्णेश्वरको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा नयाँपाटी राईटारमा बिहिबार बाट उक्त तालिम शुभारम्भ भएको हो ।
संयुक्त महिला समाजको संयोजक गीता कट्टेलको सभापतित्व तथा वडा अध्यक्ष मधु तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त तालिम शुभारम्भ कार्यक्रममा वडा सदस्य कृष्णहरी श्रेष्ठ, माया तामाङ, सरस्वति सुनार, वडा सचिव रुक बहादुर श्रेष्ठ, प्रशिक्षक रेखा शर्मा चौधरी,गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्य लक्ष्मी भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ७ का पूर्व वडा सदस्य विन्दा सापकोटा लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रयोगात्मक रुपमा सञ्चालन हुने तालिम चैत ११ गतेसम्म सञ्चालन हुनेछ ।कार्यक्रमलाइ सम्बोधन गर्ने वक्ताहरुले कुनै औपचारिक शिक्षा, योग्यता तथा अनुभव नभएका महिलाहरुले पनि आफ्नो घरमै वसी आयआर्जन गर्न सक्ने भएको हुनाले तालिमको आयोजना गरिएको जानकारी गराएका थिए ।
तालिममा सिकेका सिपलाई यत्तिकै खेर नफाल्न आग्रह गर्दै सिप भए स्वरोजगार बन्न सकिने भन्दै अध्यक्ष श्रेष्ठले यसको सही उपयोग गर्न सुझाव दिएका थिए । स्थानीय रुपमा उपलब्ध हुने स्रोतलाई सहज तरिकाले प्रशोधन गरि उत्पादन गर्न सकिने भएकोले तालिमले आयआर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गर्ने बताउंदै तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।