पुरस्कृत : शारदा दाहाल भण्डारी ( लघुकथा )

पुरस्कृत : शारदा दाहाल भण्डारी ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,फागुन १३ ।

सहिद दिवसको उपलक्ष्यमा ‘समाजसेवा’ शीर्षकमा खुला वक्तृत्वकला प्रतियोगिता चलिरहेको थियो । निकै उत्सुकतापूर्वक नाम दर्ता गराएका युवाहरूको जमात अझै केही पढ्ने र यसो भन्ने भनेर तयारी गरिरहेका थिए । उनीहरू ‘जसरी पनि हाम्रो समूहबाटै पुरस्कृत हुनुपर्छ है !’ भन्दै थिए । भुपतिले पनि आफ्नो नाम दर्ता गराएर बाहिर निस्के । कार्यक्रममा एक जना बुढा मानिस छटपट गरिरहेका थिए । प्रतियोगितामा सामेल हुन आएका भूपतिले सोधे, ‘बा ! हजुरलाई केही समस्या छ कि ?’
‘कार्यक्रम हेर्न पर्यो  भनेर गाउँले सँग आएको । साथमा आएका मानिस कता पुगे कता पत्तै भएन । म त एक्लै परेँ । कसरी घर जाने होला भन्ने सोचेर परेशान भएको छु ।’ बूढा मानिसले भने ।
भूपतिले आफ्नो भाइलाई बोलाएर ती बुढा मानिसलाई घर पठाइदिए ।
एक छिनमा भूपतिको पालो आउँदा उनले सहिदको सम्मानका लागि सहिद परिवारको जीवनसँग पनि संवेदनशील हुनुपर्ने बताए । उनले आफूले सहिद परिवारका बुढा मानिसलाई घर पुर्याउन सहयोग गरेको कुरा पनि आफ्नो वक्तृत्वमा उल्लेख गरे ।
प्रतियोगितामा भूपतिलाई प्रथम घोषणा गरियो । अन्य सहभागीले विरोध गर्दै भने, ‘भूपतिको भन्दा त हाम्रो वक्तृत्व राम्रो थियो । किन उसलाई प्रथम पुरस्कृत गरियो ?’
‘कोरा वक्तृत्वमात्र होइन, जीवनकर्ममापनि सहिदप्रति श्रद्धाभाव हुनुपर्छ ।’ ‘भूूपतिले वक्तृत्व मात्र होइन, काममा पनि सहिद परिवारप्रति सहयोगी भावना प्रस्तुत गरे । मूल्यांकनका अनेक आधार हुन्छन् । हामीले उनको सहिद परिवारप्रतिको सहयोगी भावनालाई पनि मूल्यांकन गरेका छौं ।’ निर्णायक संयोजकले भने । ‘सहभागी जमात सैद्धान्तिक पक्ष भन्दा व्यवहारिक पाटो महत्वपूर्ण हुँदोरहेछ ।’ भन्दै बाहिरिए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।