चिनियाँ विदेशमन्त्री राजधानीमा
काठमाडौँ, ९ असार । भोलि यहाँ आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीनका विदेशमन्त्री वाङ यी आज अपराह्न विशेष विमानबाट यहाँ आइपुग्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी, उक्त मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।
आजै जापानका परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची पनि उक्त सम्मेलनमा भाग लिन आइपुग्नुभयो । उहाँलाई विमानस्थलमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, परराष्ट्र र अर्थमन्त्रालयका साथै यहाँस्थित जापानी दूतावासका वरिष्ठ अधिकृतले स्वागत गर्नुभयो ।
एघार सदस्यीय जापानी प्रतिनिधिमण्डलमा उक्त मुलुकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित त्यहाँका सञ्चारकर्मी पनि सहभागी हुनुहुन्छ ।